स्याङ्जाका ७३ मतदान केन्द्र अतिसंवेदनशील

२०७९ बैशाख ११, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, ११ वैशाख । स्याङ्जाका ७३ मतदान केन्द्र सुरक्षाका दृष्टिले अतिसंवेदनशील केन्द्रको सूचीमा परेका छन् । स्थानीयतह निर्वाचन नजिकिँदै जाँदा जिल्ला स्थित सुरक्षा समिति स्याङ्जाले जिल्लाका मतदान केन्द्रको वर्गीकरण गरी संवेदनशीलताको सूची तयार पारेको हो ।

अति संवेदनशील, संवेदनशील र सामान्य संवेदनशील मतदान केन्द्रका रूपमा जिल्लाका मतदान केन्द्रलाई वर्गीकरण गरिएको छ । १ सय ९९ मतदान केन्द्रमध्ये ७३ मतदान केन्द्र अति संवेदनशील सूचीमा रहेको छ । संवेदनशील ७३ मतदान केन्द्र रहेका छन् भने सामान्य मतदान केन्द्र रुपमा ५३ केन्द्र रहेका छन् ।

२०७४ को स्थानीयतह निर्वाचनको अवस्था हेरेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारी रबिन्द्र खनाल भने, ‘भौगोलिक विकटता, मतदान केन्द्रको सुरक्षा चुनौती र यातायातको सहज पहुँचका आधारमा मतदान केन्द्रलाई अतिसंवेदनशील केन्द्रका रूपमा वर्गिकरण गरिएको छ ।’ जिल्लामा स्थानीय निर्वाचन सम्पन्न गर्न आवश्यक सुरक्षा जनशक्ति अभाव छ, अभावको बावजुद पनि हामीले छुट्टै रणनीतिक योजना बनाएर सुरक्षा प्रदान गर्ने छौं उनले भने । स्याङ्जामा १ हजार ६ सय २४ म्यादी प्रहरी भर्ना गरिएको छ । म्यादी प्रहरीलाई १० दिनको तालिम दिएर परिचालन गर्ने अन्तिम तयारी गरिएको छ । सबै मतदान केन्द्रमा प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा रहेको सुरक्षा समितिको टोली पुगेर सुरक्षा चुनौतीको अनुगमन गरिएको प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीयनिर्वाचन २०७४ मा चरण चरणमा निर्वाचन हुँदा सुरक्षा जनशक्ति परिचालन गर्न सहज भएको थियो । घोषित निर्वाचनमा सबै स्थानीयतहमा एकैपटक निर्वाचन हुने भएकाले समस्या थपिएको हो । एकीकृत सुरक्षा योजना अनुसार सुरक्षाकर्मी खटाइने भएको छ भने केन्द्रसँग पनि जनशक्ति माग गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

निर्वाचनलाई स्वतन्त्र, भयरहित र शान्तिपूर्ण रूपमा अघि बढाउनका लागि जिल्ला सुरक्षा समितिले हरेक विकल्प अपनाउँदै आएको प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । कार्यालयका अनुसार संवेदनशीलतालाई आधार बनाएर सुरक्षाकर्मी खटाउने काम अन्तिम चरणमा समेत पुगेको छ । उमेदवार छनोटमा दलहरु लागेका कारण खासै स्थानीयतहको निर्वाचनको रौनकता देखिएको छैन । यसले सुरक्षालाई चुनौती नदेखिएपनि उमेदवारी मनोनयन पछि हुने दलहरुको चुनावी प्रचारप्रसारले भने सुरक्षा चुनौती हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय