पोखरामा आर्थिक क्रियाकलाप बढाउन जरुरी ः मुख्यमन्त्री पोखरेल

२०७९ असार ८, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पोखरा, ८ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा र गण्डकी प्रदेश हरेक सूचकांकमा अगाडि रहे पनि आर्थिक गतिविधिका हिसावमा पछि रहेको भन्दै ३ तहका सरकारको समन्वयमा यस्ता गतिविधि बढाउनुपर्ने बताउनुभएकाे छ ।

पोखरा महानगरपालिकको ११ औं सभा उद्घाटनपछि बुधबार मुख्यमन्त्री पोखरेलले भन्नुभयाे, ‘यसमा हाम्रा नीति नियम कमजोर हुन् या कहाँनेर कमजोरी छ त्यो पत्ता लगाएर आर्थिक गतिविधि बढाउनुपर्ने छ । पोखरा त अब प्रदेशको मात्र होइन मुलुककै आर्थिक केन्द्र बन्नुपर्छ । पर्यटनमार्फत् त्यो सम्भावना पनि छ ।’
पोखराले बर्सेनि १२ देख १५ लाख व्यक्तिलाई कुनै न कुनै हिसावले सेवा दिनुपर्ने अवस्था रहेको औंल्याउँदै मुख्यमन्त्री पोखरेलले अबको ग्रेटर पोखराले समग्र प्रदेशलाई समेट्नुपर्ने बताउनुभयाे । उहाले भन्नुभयाे, ‘पोखरा भनेको यो कास्कीभित्रको सहरी क्षेत्रमात्र होइन पूर्वमा मादी र आँधिको बीच भन्दा पनि पनि पर मुगलिन र पश्चिममा राम्दीसम्मको भूभागको विकासका लागि पोखराले चासो देखाउनुपर्छ ।’

व्यवस्थित सहर विस्तारका लागि प्रदेशले पनि गृहकार्य गरिरहेको भन्दै उहाँले सबै खालका गतिविधिलाई पोखराभित्र मात्र समेट्न सम्भव नरहेको बताउनुभयाे । पोखराले ५ वर्षमा पर्यटक दोब्बर बढाउने, उहाँहरुको बसाई अवधि र खर्च पनि दोब्बर बनाउने गरी योजना ल्याउनुपर्ने भन्दै उहाँले यसका लागि प्रदेश सरकारले के सहयोग गर्नुपर्छ तयार रहेको जनाउनुभयाे । उहाँले निर्माणको अन्तिम चरणमा पुगेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा कत्ति पनि ढिलाइ गर्न नहुने भनाइ राख्नुभयाे । उहाँले भन्नुभयाे, ‘यसको उपयोगका बारेमा चर्चा सुरु भइसकेको छ । ल्यान्डफिल साइटको विकल्पको खोजी र विमानस्थलसम्मको बाटो विस्तार प्राथमिकतामा हुनु जरुरी छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सहजीकरण समिति प्रदेश सरकारले गठन गरेको छ । यसले सरोकारवालासँग नियमित रुपमा छलफल गर्दै आएको छ । अरु सकिए पनि महानगरको ढिलाइले विमानस्थल सञ्चालनमा ढिलाइ नहोस् भन्ने प्रदेश सरकारको चाहाना छ, ल्यान्डफिल साइट छिटो बनोस् ।’

पोखराबाट उडान भर्नका लागि जजिरा लगायतका विमान सञ्चालन कम्पनी तयार भइसकेको भन्दै उहाँले नेपालमा उडान गर्ने हवाई कम्पनीका प्रतिनिधिहरुलाई पोखरामै बोलाएर वृहत भेला गर्ने र यहाँको पर्यटकीय महत्वका बारेमा जानकारी गराउने उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘यो एअरपोर्टको खर्च धान्न र गण्डकीको पर्यटनलाई अझै उचाइमा पु¥याउन भारतका मुख्य सहरहरुमा नियमित रुपमा सिधा उडान जरुरी छ । यसका लागि हामीले नेपाल सरकारलाई झकझकाइरहेकै छ ।’

५ वर्षमा स्थानीय तहको बलियो आधार तयार भएको भन्दै मुख्यमन्त्री पोखरेलले संघीयता सुदृढीकरणका लागि प्रदेश सरकार र स्थानीय तहबीच समन्वय जरुरी रहेको बताउनुभयाे । यसका लागि प्रदेशले गण्डकी प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधान गर्न बनेको ऐन ल्याएको जानकारी उनले गराए । पोखरा प्रदेशको राजधानी मात्र होइन पर्यटकीय केन्द्र भएकाले यसको औपचारिक घोषणाका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरले निर्णय गरेर नेपाल सरकारलाई पठाइसकेको मुख्यमन्त्री पोखरेलले उल्लेख गर्नुभयाे ।

पोखरा सहरलाई कस्तो बनाउने भनेर प्लानिङ गर्ने हामीहरुले भन्दै मुख्यमन्त्री पोखरेलले भन्नुभयाे, ‘पोखरा आफैमा सुन्दर छ । यसको सुन्दरता बचाइराख्न र पर्यटक आकर्षणका लागि थप पूर्वाधार निर्माण गर्नुपर्ने छ । चौडा सडक, फराकिलो फुटपाथ, हरियालीका साथमा रात्रिकालीन बत्तीहरु झिलीमिली हुन्, जसका कारण स्वदेश र विदेशी पर्यटकलाई थप आकर्षित बनाउन सकिन्छ ।

उक्त अवसरमा पोखरा महानगरका मेयर धनराज आचार्यले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयाे । उपमेयर मञ्जुकुमारी गुरुङले स्वागत गरेको कार्यक्रममा नेपाली कांग्रेस दलका नेता दिवशमान प्रधानांग, एमाले दलका नेता राधिका शाही योगी, महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले बोल्नुभएकाे  थियाे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार