एमाले विभाजनको संकेत: आज छुट्टै प्रतिवेदन पेश हुँदै

२०७७ चैत्र ४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

चैत,४,२०७७, काठमाडौं ।

अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते गरेका निर्णयविरुद्ध नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आज (बुधबार) देखि २ दिनसम्म ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दै छ।

ललितपुरको हेरिटेज गार्डेनमा आयोजना हुने भेलामा जिल्लाका अगुवा कार्यकर्ता र केन्द्रीय सदस्य गरी देशभरबाट २ हजार जनाभन्दा बढी नेता/कार्यकर्ता उतार्ने उसको दाबी छ। भेला अहिले बिहान ११ बजे उद्घाटन गरिने एमाले नेता विष्णु रिजालले जानकारी दिएका छन्।

भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमा छलफल गर्ने बताइएको छ। टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्ने र पारित गर्ने कार्यक्रम रहेको एमाले नेपाल पक्षले जनाएको छ।

भेलामा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको अवस्था तथा हालसम्म भएका गतिविधि समेटिएको प्रतिवेदन पेस गर्ने नेता रिजालले जानकारी दिएका छन्।

यसबीच अध्यक्ष ओलीको निमन्त्रणमा गत सोमबार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा दुई पक्षबीच वार्ता भए पनि सहमति हुन सकेन। नेपाल पक्षले गत फागुन २८ का सबै निर्णय खारेज गर्नुपर्ने अडान राखेको छ भने ओली पक्षले त्यसलाई परिवर्तन गर्न नसकिने अडान लिएको छ।

बदलिँदो राजनीतिक परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापीरुपमा पार्टी पङ्क्तिलाई त्यस आधारमा अघि बढाउनका लागि राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेको नेपाल समूहले जनाएको छ।

दुईदिनसम्म चल्ने भेलाकाे सम्पूर्ण तयारी पूरा भइसकेकाे र नेता कार्यकर्ताहरु राजधानी पुग्ने क्रम जारी रहेकाे समूहले जनाएकाे छ। भेलामा झण्डै दुई हजारु अगुवा नेता तथा कार्यकर्ता सहभागी हुने छन्।

एमाले सचिव योगेश भट्टराईले राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीलाई सुदृढ, एकताबद्ध, क्रियाशील र विधान सम्मतरुपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल हुने बताए।

उनले पार्टी कठिन अवस्थाबाट गुज्रिरहेको घडीमा धैर्य र संयमताका साथ पार्टीको सुदृढ एकता र विधानसम्मत सञ्चालनका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्न पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकमा आग्रह गरे।

भेलामा केन्द्रीय कमिटीका तर्फबाट एक अवधारणात्र प्रस्तुत गरिने, टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्न पाउने गरी छलफल र पारित गरिने जनाइएको छ।

भेलाले पार्टी एकता विरोधी, विधान प्रतिकूल र एकलौटी कदमले सिर्जना गरेका पार्टी एकताका चुनौतीलाई एकताबद्धरुपमा प्रतिवाद गर्दै असफल पार्न आम पार्टी पङ्क्तिलाई आह्वान समेत गर्ने भनिएकाे छ।

यता नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नाममा यही चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्ने भनी सूूचना प्रचार भएकामा सो पार्टीका महासचिव ईश्वर पोखरेलले उक्त भेला आधिकारिक नभएको जनाएका छन्।

महासचिव पोखरेलको विज्ञप्तिमा यस्तो अनाधिकृत गुटगत भेला नगर्न/नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा (एमाले) ले सबै नेता/कार्यकर्तालाई विशेष निर्देशन गरिएको छ ।

‘अन्यथा, मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम हुने कुरा पनि स्पष्ट गरिन्छ’, विज्ञप्तिमा भनिएको छ। मंगलबार बालुवाटारमा आयाेजित चियापान समाराेहबाट प्रधानमन्त्री ओलीले गुटका भेलामा जाने एमाले नेता तथा कार्यकर्तालाई कारबाहीकाे चेतावनी दिएका थिए।

ओलीकाे चेतावनीपछि पत्रकार सम्मेलन गर्दै एमाले सचिव तथा माधव समूहका नेता भट्टराईले आफूहरु कारबाहीका लागि लामबद्ध रहेकाे भन्दै प्रतिवाद गरेका थिए। उनले भेलामा प्रमुख अतिथि भएर सहभागी हुन पनि अध्यक्ष ओलीलाई आग्रह गरेका थिए।

‘भेलामा नजर लगाउन अनुयायी खटाउनै पर्दैन। तपाईँकै नेता कार्यकर्ता हुन् । प्रमुख अतिथि भएर आउनुस् र उनीहरुका कुरा सुन्नुस्’,भट्टराईले पत्रकार सम्मेलनमा भनेका थिए। त्यसअघि चियापान समाराेहबाट ओलीले भेलाकाे तमासा हेर्न एक नजर त्यता पनि लगाइने बताएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय