दमौली, २६ पुस । तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुर इको ट्रेकमा सिँढी निर्माण गरिएको छ । पदयात्रा गर्दै तनहुँसुर पुग्ने पदयात्रीको सजिलोका लागि उक्त ट्रेकमा सिँढी निर्माण गरिएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् सिँढी निर्माणको काम थालिएको वडाध्यक्ष नीरबहादुर खड्काले जानकारी दिनुभयो । वडाका बेरोजगारलाई न्यूनतम १०० दिनको रोजगारी दिने उद्देश्यसहित दश जनाले यो कामका लागि रोजगारी पाएका छन् । “सात महिला र तीन पुरुषले सिँढी निर्माणमा रोजगारी पाएका छन्”, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् सिँढी निर्माणका लागि यो वर्ष रु पाँच लाख बजेट विनियोजन गरिएको थियो । उक्त बजेटबाट ३२० मिटर सिँढी निर्माण गरिनेछ । गत वर्ष रु ६ लाख बजेटमा तीन सय मिटर सिँढी निर्माण भइसकेको छ । जैविक विविधता संरक्षणसँगै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित गत वर्षमात्रै तनहुँसुर इको ट्रेकको सम्भाव्यता अध्ययन गरिएको थियो ।
“सिँढी निर्माणसँगै पदयात्रा गर्नेलाई सहज रुपमा तनहुँसुरसम्म पुग्न सजिलो हुन्छ,” वडाध्यक्ष खड्काले भन्नुभयो ।
वर्तमान समयमा भौतिक विकासबाट पर्यावरणमा प्रतिकूल असर पर्दै गइरहेको अवस्थालाई मध्यनजर गरी पर्यटनविज्ञ सहितको टोलीले सो मार्गको सम्भाव्यता अध्ययन गरेको थियो । मूलपानीदेखि तनहुँसुरसम्म ६।५ किलोमिटरको उक्त टे«क समुन्द्र सतहबाट पाँच सय मिटरको उचाइबाट शुरु हुने र एक हजार दुई सय ५० मिटरको उचाइमा समाप्त हुनेछ ।
पदयात्राका क्रममा ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाहरुको अवलोकन, तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरु, धारा, तोप, गद्दी चौतारा, सिढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, भगवतीपानी मन्दिर, विष्णु र शिव मन्दिर, टुँडिखेल, सिलखान, जारकाटे ढुङ्गा, शहीद पार्क, ऐनापहरा, छाप लगाउने ढुङ्गा अवलोकन गर्न सकिन्छ ।
पृथ्वीराजमार्गमा पर्ने घाँसीकुवादेखि मूलपानीसम्म करिब चार किमि मोटरयात्रा, त्यसपछि चमेरेगुफा–भगवतीपानी मन्दिर–तनहुँसुर देवस्थल सामुदायिक घरबास हुँदै तनहुँसुर गढीसम्म पदयात्रा गर्न सकिनेछ । ट्रेक स्थापनाका लागि विगत केही वर्षदेखि नै तनहुँसुरवासीलाई वन संरक्षण, वृक्षरोपण, स्थानीय उत्पादनलाई प्राथमिकता दिन, अर्गानिक खाना र सांस्कृतिक पहिचानको संरक्षण र प्रवद्र्धन लगायतका विषयमा प्रशिक्षण दिइँदै आएको थियो ।
धेरै लामो र उकालो नभई तेर्सो, साधारण उकालो र धेरै घाम र ओसिलो पनि नभएकाले यो पदयात्रा अति नै सजिलो रहेको पर्यटनविज्ञ हरिसिंह गुरुङले बताउनुभयो । “हरियाली वातावरण, ठाउँठाउँमा पानीको स्रोत, सांस्कृतिक गतिविधि अवलोकन, धार्मिक स्थलहरु, पुरातात्विक सम्पदा पनि समेटिएकाले यो बाटो उत्कृष्ट हुनेछ,” उहाँले भन्नुभयो ।
उक्त मार्गमा पर्ने चमेरो गुफा एवं गुप्तेश्वर महादेव, भगवतीपानी लगायतका धार्मिक सम्पदाहरुलाई प्रकृतिसँग जोड्ने वनस्पति, हावापानी वन्यजन्तु र चराचुरुङ्गी लगायतका विविधतालाई संरक्षण गर्दै स्थानीयको आयआर्जनमा टेवा पु¥याउनु यस इको ट्रेकको प्रमुख उद्देश्य रहेको बताइएको छ ।
पछिल्लो समय तनहुँसुर पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ । ऐतिहासिक तनहुँसुर भ्रमणका लागि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पदयात्रा गरेर पुग्नेहरुलाई तनहुँसुरमा दुई वटा घरबासको सुविधा छ । तनहुँसुरमा सर्वसाधारणको आगमन हुन थालेपछि यहाँका स्थानीयवासी घरबास सञ्चालनमा कस्सिएका छन् । तनहुँसुर सामुदायिक घरबास र तनहुँसुर देवस्थल सामुदायिक घरबास सञ्चालन गरेर स्थानीय पाहुनाको स्वागतका लागि आतुर छन् ।
तनहुँसुर भ्रमण गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई खाना तथा आवासको सहज व्यवस्थापन गर्ने उद्देश्यले भोरथोक र चण्दनीथोकका बासिन्दा मिलेर तनहुँसुर सामुदायिक घरबास सञ्चालित छ । कूल ४४ घरधुरीमध्ये ८ घरधुरीमा घरबास सञ्चालन गरिएको अध्यक्ष केबी थापाले जानकारी दिनुभयो । यहाँ ३० जनासम्मलाई बासको व्यवस्था मिलाउन सकिनेछ । मगर, नेवार दलितको बसोबास रहेको यहाँ मकै, कोदो, फापर, मास, बोडी, भट्ट लगायतका कृषि उपज उत्पादन हुने गर्दछ ।
यस्तै पाल्पालीथोक, पत्यारथोक र गङ्गलीथोकका वासिन्दा मिलेर तनहुँसुर देवस्थल सामुदायिक घरबास सञ्चालन गरिएको छ । कूल ३० घरधुरी रहेको यस ठाउँका १४ घरधुरीमा घरबास सञ्चालन गरिएको छ । उक्त घरबासमा ४० जना बास बस्न सक्ने अध्यक्ष पदमबहादुर थापाले जानकारी दिनुभयो । मगर, नेवार र दलितको बसोबास रहेको यहाँका घरबासमा आउने पर्यटकलाई मकै, कोदो, फापर, मास, बोडी, भट्ट लगायतका परिकार खुवाइने घरबास सञ्चालक समितिका उपाध्यक्ष मदन आलेले जानकारी दिनुभयो ।
तनहुँसुर सेन वंशीय राजाले राज्य सञ्चालन गरेको ठाउँ हो । तनहुँ जिल्लाको नाम तनहुँसुरवाट अप्रभंस भएर रहेको भन्ने भनाइ छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका ८ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ ।
तनहुँसुर दरवारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरु, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैचा, भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् ।