आसन्न् निर्वाचनमा महिला उम्मेदवार बारे देशव्यापी अभियान

२०७९ भाद्र २३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

काठमाडौं , २२ भदौ ।आसन्न् संघ र प्रदेशको निर्वाचनमा महिलालाइ उम्मेदवार बनाउने बिषयमा देशव्यापी अभियान सुरूभएको छ । नेपाली कांग्रेसको भाद्री संगठन नेपाल महिला संघले यसको सुरूवात गरेको हो ।

देशका सातै प्रदेशमा प्रदेश स्तरीय महीला प्रशिक्षण गर्ने उद्द्ेश्यका साथ बुधबार महिला संघले काठमाडौमा एक कार्यक्रम गर्दै उक्त अभियान सुरूवात गरिएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पाटी सभापति शेरवहादुर देउवाले उक्त कार्यक्रमको उद्घाटन गर्दै  महिला नेताहरूलाई प्रत्यक्षमा टिकट पाउनका लागि आफू सक्षम, सशक्त र जनताको मन र मत जित्ने क्षमता बनाउन आग्रह गर्नुभएकाे छ ।  देउवाले महिला नेतृहरूलाई निर्वाचन जित्ने वातावरण निर्माण गर्न जनताका घर दैलोमा पुग्न आग्रह गर्दै भन्नुभयाे, ‘जनता भनेका देशका मालिक हुन्। जनता देशका सार्वभौमसत्ता हुन्। जनताको विश्वास र मत जित्नुहोस्। मेरो कुरा गर्ने हो भने म महिला नेतृहरूलाई ५१ प्रतिशत नै दिन तयार छु। तर, गठबन्धनको यर्थाथता पनि बुझिदिनुस्। अझै मुख्य कुरा जनताको विश्वास लिएर आउनुस्। भोट जनताको चाहिने हो।’

उहाँले महिलालाई सशक्त र क्षमतावान बन्न आग्रह गरे। उहाँले भन्नुभयाे, ‘अधिकार आफैं लिन सबै दिदीबहिनी योग्य हुनुहन्छ। अबको समयमा अधिकार आफैं लिने हो। त्यसको लागि जनताकोमा जानुस्। जनतालाई खुसी बनाएपछि जनताले भोट हाल्ने हो। दिदिबहिनी सशक्त र क्षमतावान भए पार्टी पनि बलियो हुनेछ।’

नेपाल महिला संघले बुधबारदेखि सुरु गरेको प्रशिक्षण कार्यक्रम १० दिनभित्र सातवटै प्रदेशमा दिँदै छ। महिला संघकी अध्यक्ष उषा राउतले प्रशिक्षणका बारेमा बताउँदै एउटा प्रदेशमा ५० जनाको दरले महिला प्रतिनिधिहरू सहभागी भएको बताउनुभयाे।

उहाँले भन्नुभयाे, ‘समग्रमा सबै प्रदेश गरेर करिब ५ सय महिला संघका दिदिबहिनीलाई तालिम दिइनेछ। २÷२ दिनको तालिममा राष्ट्रिय र अन्तर्राष्ट्रियका अनुभवी व्यक्तिहरू सहभागी हुँदैहुनुहुन्छ।’ निर्वाचनको मुखमा यो प्रशिक्षण गरिनुको प्रमुख कारण निर्वाचनलाई फोकस हो। निर्वाचनमा महिलाको प्रतिनिधित्व कसरी बलियो ढंगले बढाउन सकिन्छ भन्ने उद्देश्य रहेको राउतले बताउनुभयाे। कार्यक्रममा पूर्व उपसभापति तथा वर्तमान केन्द्रीय सदस्यसमेत रहेका प्रकाशमान सिंहले २००४ सालमा मंगलादेवी सिंहले खोलेको नेपाली महिला संंघलाई सशक्त बनाउन सबैको आवश्यकता रहेको बताउनुभयाे।

‘महिलाले अब आफ्नो क्षमता मतदातालाई प्रभावित गर्न सक्ने बनाउनुहोस्। सामाजिक सञ्जालको मिडियामा सक्रियता देखाउनुहोस्। अब भाषण र सभा समारोहभन्दा पनि अनलाइनमा सक्रियता हुनपर्छ। अब महिलाले आफ्नो क्षमतामा विश्वास राख्नुहोस्। स्वतः भागमा आउँछ। आरक्षणमा सीमित हुन पर्दैन’, उहाँले भन्नुभयाे ।

कार्यक्रममा सहमहामन्त्री डिना उपाध्यायले महिला सशक्त हुनुपर्छ भन्ने आवाज सबै जनतामा रहेको र महिला सशक्त हिजो आज र भोलि पनि महिलाले सशक्त भूमिका निभाउने बताउनुभयाे। अहिले पनि दाजुभाइलाई जिताउन महिला दिदीबहिनीहरूले नै मुख्य भूमिका निभाउँदै आएको भन्दै उहाँले गठबन्धनको नाममा महिलामाथि अन्याय सहन गर्न नसकिने बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘महिला समानुपातिकमा मात्रमा किन रु हरेक प्रदेश, जिल्ला र क्षेत्रीय सभापतिमा पुरुष रु अनि म प्रत्यक्ष चुनाव लड्छु भनेर आउने महिलालाई पार्टीले न्याय गर्न सक्छ रु तर अब न्यायको विकल्प छैन। महिलालाई आश्वासन र समानुपातिकमा मात्र सीमित नेतृत्वले नगरोस्।’

उहाँका अनुसार महिलाको नाम आएपछि पछाडि सारेर आफ्नो अगाडि राख्ने परिपाटी अहिले पनि छ। ‘अहिले महिलाको आवाज बुलन्द छ। कांग्रेसले महिला चुनाव उड्छु भनेका ठाउँमा ध्यान दिनपर्छ। अहिले गठबन्धन छ। कतिपय स्थानमा टिकट भागबन्डामा पर्लान्। जुनसुकै भागबन्डामा पनि प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रबाट पुरुषलाई दिइने सिटमा महिलालाई टिकट लिएर अगाडि ल्याइयोस्’, उहाँले भन्नुभयाे। प्रधानमन्त्री देउवातिर इंगित गर्दै उहाँले भन्नुभयाे, ‘सभापतिजीले म त १ सय प्रतिशतनै महिलालाई दिन तयार छु भन्नुभयो। तर, सहभागिता खोइ भन्नुहुन्थ्यो। अहिले सहभागितामा हामी जति पनि संख्या दिन तयार छौं। ४० प्रतिशत महिला उम्मेदवार मागे पनि अहिले पनि हामी दिन तयार छौं।’

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एक तिहाइ महिलाको न्यूनतम सहभागी हुने व्यवस्था गरेको भन्दै अब यो सहभागिता मात्र हैन सशक्त र प्रभावकारिता सहभागिता खोज्नुपर्ने बताउनुभयाे। उहाँले देशभरका सक्षम महिलालाई महिला संघमा जोड्ने अभियान चलाउँदा हामी आगामी २ दशकमा ५० भन्दा बढी प्रतिशत महिलाको सहभागिता सुनिश्चित भएको देख्न सकिने बताउनुभयाे।

उहाँले भन्नुभयाे, ‘गुणात्मक र संख्यात्मक हिसाबमा पनि महिलाको सहभागिता बढ्दै गएको छ। व्यक्तिगत स्वतन्त्रता, क्षमता, योग्यता सबै क्षेत्रमा आफूलाई स्थापित गर्दै जानुहोला। बहुमत जुटाउन गठबन्धनको पाटो समात्नुपर्ने बाध्यता छ।’

निर्वाचन परिचालनमा र आममतदातालाई कांग्रेसमा आवद्ध गर्न महिला नेतृहरूको महत्त्वपूर्ण भूमिका रहेको भन्दै प्रवक्ता महतले भन्नुभयाे, ‘एक तिहाइको चिन्ता नगर्नुहोस्। प्रत्यक्ष निर्वाचनमा महिलाको सहभागिता बढोस्। त्यसो गर्दा समानुपातिकमा पुरुषहरू जान पाउँछन्। २०७४ भन्दा यो पटक महिलाको आत्मविश्वास बढेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय