स्याङ्जा, ७ कार्तिक । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि स्याङ्जामा युवा नेता प्रतिस्पर्धामा छन् । स्याङ्जा क्षेत्र नं १ मा सत्तारुढ गठबन्धनको तर्फवाट कांग्रेसका राजु थापा र एमालेका नारायणप्रसाद मरासिनी आमुने सामुने छन् । पार्टीले पत्याइएका यी दुई युवा चुनावी मैदानमा छन् । उनीहरूको यो प्रतिस्पर्धा लगातार तेस्रो पटक हो ।
२०७० सालको प्रतिनिधिसभामा कांग्रेसका थापाले एमालेका मरासिनीलाई हराउँदै संसदीय यात्रा तय गरेका थिए । यस्तै, २०७४ को निर्वाचनमा पनि दुवै जना प्रतिर्स्धामा होमिए । पालाको पैचोँ तिर्दै कांग्रेसका थापालाई हराउँदै मरासिनी संसद् भवनमा पाइला राख्न सफल भए । एक पटक जित र एक पटक हारको अनुभव बटुलेका दुवै जना तेस्रो पटक पुनः चुनावी मैदानमा उत्रिएका छन् । उनीहरूको प्रतिस्पर्धाले स्याङ्जामा एक पटक फेरि चुनावी रौनक छाएको छ । यतिबेला दुवै उम्मेदवार प्रचारप्रसारमा पनि उत्तिकै व्यस्त छन् ।


‘यसअघिको निर्वाचनमा पराजित भए पनि म सधैं जनताकै साथमा रहें,’ थापाले भने, ‘दुःखसुख जनतासँगै बसेर काम गरें । घरदैलोमै पुगेर समस्या बुझ्ने र आफूले जाने र सकेको काम गरें ।’ युवालाई रोजगारी दिँदै व्यावसायिक यात्रा तय गराउन आफू सफल भएको उनको दाबी छ । ‘युवापुस्ता आफैं आत्मर्निभर हुनुपर्छ भनेर व्यवसायसँग जोड्ने गरेको छु,’ उनले थपे । उनको चुनावी एजेन्डा पनि कृषि क्रान्ति नै हो । युवा र महिलालाई लक्षित गर्दै उनी चुनावी मैदानमा होमिएका हुन् । यो समाचार आइतबारको कान्तिपुर दैनिकमा छापिएको छ ।
यस्तै, एमालेका मरासिनीको पृष्ठभूमि भने शिक्षण पेसा हो । मरासिनी पनि विद्यार्थी राजनीतिबाटै अगाडि बढेका हुन् । उनी पार्टीको जिल्ला कमिटी हुँदै प्रदेश सदस्यसमेत भए । पार्टीको गत निर्वाचनमा जिल्ला सभापति पदमा पराजित भएका थिए । अघिल्लो प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धनबाट साझा उम्मेदवार बनेका मरासिनीलाई अहिले सत्तारूढ गठबन्धनबाट निकै चुनौती छ ।
उनका पनि एजेन्डा युवालाई लक्षित गर्दै आर्थिक र कृषि क्रान्ति हुन् । अर्थतन्त्रबाट नै युवालाई अगाडि बढाउन सकिने लक्ष्य उनको छ । भन्छन्, ‘पढेर मात्र केही हुँदैन । रोजगारी गर्न सक्ने शिक्षा चाहिन्छ,’ उनले भने, ‘अब महिलालाई पनि आर्थिकसँग अगाडि बढाउनुपर्छ । आर्थिक सँगसँगै महिला हुन् या युवा सबैलाई राजनीतिमा पनि अगाडि बढाउन जरुरी छ ।’ मुख्य प्रतिस्पर्धीका रूपमा रहेका थापा र मरासिनीले व्यवस्था फेरिए पनि जनताको अवस्था नफेरिएकाले आफ्नो जितले जनताको अवस्था फेर्ने बताएका छन् ।