बर्षमा २ पटकमात्रै लाग्ने जुत्तामेला भृकुटीमण्डपमा सुरु,५ लाखले अवलोकन गर्ने लक्ष्य (भिडियाे सहित)

२०७९ कार्तिक २९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौ,२९ कार्तिक । नेपाल जुत्ता उत्पादक संघले बर्षमा दुईपटक मात्रै आयोजना गर्ने जुत्तामेला काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ । जाडो सिजन सुरुहुने समय र गर्मी सिजन सुरुहुने समयमा मेलाको आयोजना गर्ने संघ निर्णय अनुसार भृकुटीमण्डपको ठुलो चौरमा कार्तिक २४ गते देखि मेलाको आयोजना गरिएको हो ।

नेपालमा उत्पादित जुत्ताको बजार प्रबर्द्धन गर्ने उदेश्यका साथ मेलाको आयोजना गरिएको मेलाका संयोजक होमनाथ उपाध्यायको भनाइ छ । मेलाको करिब ५ लाखले प्रत्यक्ष फाइदा लिन सक्ने लक्ष्य पनि राखिएको उपाध्यायको भनाइ छ । उहाँले भन्नुभयो “मेला करिब ५ लाखले अवलोकन गर्ने र १० करोडको कारोबार हुने आयोजकले लक्ष्य राखेको छ ।” नेपालमा उत्पादित दश कम्पनीहरु रन सुज,स्माट सुज,बि एफ डियर हिल,केटिएम सुज,क्रस रोड,सिल,स्टाइल,कोशेली,रोएल,फस्ट वल्क लगायतका कम्पनी सहभागी भएको मेला पुष २ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

मेला संयोजक उपाध्यायका अनुसार १० कम्पनीका ११ ब्रान्डका जुत्ता चप्पल मेलामा पाइनेछ भने एक सय देखी दश हजारसम्मका करिब तीन हजार भन्दा बढीका जुत्ता चप्पल मेलामा उपलब्ध हुने छन् । बिहान ९ बजेदेखि बेलुका ६;३० बजेसम्म मेला संचालनहुने छ । उपाध्याय भन्नुहुन्छ “हेर्दा भृकुटीमण्डपमा लगभग बाह्रै महिनामेला लागेको जस्तो देखिन्छ तर ति स-साना कम्पनीहरुले आफ्नो उत्पादन बेच्न लागि पसल संचालन गर्नुभएको हो ।” उपाध्यायले सानो चौरमा लगभग बाह्रैमहिना जसो मेलाको नाम दिएर ब्यापार हुने हुँदा आम उपभोक्तालाई यो मेलाको गलत सन्देश जाने गरेको धारणा समेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “झट्ट हेर्दा भृकुटीमण्डपमा जतिबेला पनि जुत्ता चप्पल मेला देखिन्छ तर त्यसो होइन । यो संघले बर्षमा दुई पटक मात्रै मेलाको आयोजना गर्छ ।” उहाँले आम उपभोक्ता लाई भ्रममा नपर्न आग्रह गर्दै भृकुटीमण्डपको ठुलो चौरमा लागेको मेला संघको आधिकारिक मेला भएको पनि बताउनुभयो ।

उत्पादक कम्पनीसंग ग्राहकको सिधा सम्पर्कसंगै ग्राहकको चाहना बुझ्नको लागि पनि बर्षमा दुईपटक मेला आयोजना गर्ने गरिएको मेलाका उपसंयोजक जिबन कुमार श्रेष्ठको भनाइ छ । उहाँले ग्राहकको रोजाइ अनुसारको जुत्ता चप्पल उत्पादन गर्न पनि मेला फलदायी हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो “बजारमा ग्राहकले कस्तो माग गर्नुभएको छ त्यहीँ अनुसार उत्पादन गर्न ग्राहकको मनोभावना बुझ्न पनि यो मेला फलदायी हुने बिश्वास हामीले लिएका छौ ।” त्यस्तै मेलाको आयोजक केटिएम सुजका प्रबन्ध निर्देशक प्रमोद कुमार महत्तोले पनि यो मेला निकै फलदायी हुने धारणा राख्नुभयो ।

मेलामा सहभागी हुन काठमाडौका विभिन्न ठाउँबाट आएका सहभागीहरुले पनि मेला निकै उपयोगी भएको धारणा राख्नुभएको छ । बाहिर भन्दा सस्तो पाउने भएको हुँदा पनि मेला प्रति आकर्षित भएको उहाँहरुको भनाइ थियो । नेपाली ब्रान्डका जुत्ता सिधै कम्पनी बाटै उपलब्ध हुने हुँदा यस्ता मेला ग्राहकको लागि पनि निकै उपयोगी हुने उहाँहरुको धारणा थियो । मेलामा चाबहिलबाट जुत्ता खरिद गर्नु आउनु भएकी मनिषा श्रेष्ठले भन्नुभयो “कम्पनीबाट उत्पादन भएर पसल सम्म पुग्दा पसलको भाडा लगायतले गर्दा जुत्ताको मुल्य महँगो हुन जाने र यहाँ कम्पनीबाट सिधै खरिद गर्न पाउदा कम मुल्य पर्ने हुँदा म पनि जुत्ता चप्पल खरिदको लागि आएकी हु ।” उहाँले आफुले प्राय मेलाबाटै जुत्ता चप्पल किन्ने गरेको धारणा समेत राख्नुभयो ।

नेपालकाे अर्थतन्त्र निर्यात मुखी भन्दा पनि आयात मुखी भैरहेको अवस्थामा नेपालमा उत्पादित जुत्ता चप्पल कम्पनीहरु संगठित भएर चालेको यस्तो कदमले यहाँको अर्थतन्त्रलाई समेत चलाएमान बनाउ मद्दत पुग्ने देखिन्छ । नेपालको अर्थ उकास्न नेपाली उत्पादक बस्तुको बजारको प्रबर्द्धन गर्न सके निकट भबिस्यमै नेपालमा उत्पादित जुत्ता कम्पनीले बिदेशी बजार नपाउला भन्न सकिदैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार