शिक्षालाई राजनीतिकरण नगरौँ : मेयर सिंह

२०७९ मंसिर २८, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

वीरगञ्ज,२८ मंसीर । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगञ्जको शैक्षिक क्षेत्र सुधारका लागि सबैको साथको आवश्यकता रहेको बताउनुभएको छ ।

संस्थागत विद्यालयको स्तरीकरण र शुल्क निर्धारण गर्ने काम नेपालमै पहिलो पटक गरिएको भन्दै उनले यसलाई कार्यान्वयनमा लैजान एकअर्कासँग हातेमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । प्याब्सन पर्सा जिल्ला समिति र महानगर समितिको साधारण सभालाई सम्बोधन गर्दै मेयर सिंहले संस्थागत विद्यालयको स्तरीकरण र शुल्क निर्धारणले शिक्षामा आमुल परिवर्तन ल्याउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

मेयर सिंहले महानगरले शिक्षालाई विशेष प्राथमिकता दिएको बताउनुहँदै केही कमी कमजोरी र असन्तुष्टी भएमा सच्याउँदै जान सकिने पनि बताउनुभयो । ‘निजी विद्यालयको वर्गीकरण गर्नु एउटा ठूलो उपलब्धी हो । यसमा केही त्रुटी पनि होलान्,’ मेयर सिंहले भने, ‘उचित असन्तुष्टीलाई समाधान गर्दै र त्रुटीहरुलई सच्याउँदै एकअर्कासँग हातेमालो गरेर अघि बढ्न सकियो भने वीरगञ्जको शैक्षिक क्षेत्रले ठूलो फड्को मार्नेमा म ढुक्क छु ।’

केही व्यक्तिले अनावश्यक रुपमा शिक्षालाई राजनीतिकरण गर्ने दुष्प्रयास गरिरहेको भन्दै मेयर सिंहले राजनीति नै गर्ने भए दलमा आएर खुला रुपमा राजनीति गर्न पनि आग्रह गरे । आफूले शिक्षालाई राजनीतिबाट टाढा राखेर सुधार गर्न चाहेको भन्दै उहाँले यसमा सबैले साथ दिन अनुरोध गर्नुभयो । विद्यालयमा शूल्क बढाउने प्रतिस्पर्धा नगरी शैक्षिक गुणस्तर वृद्धि गर्ने प्रतिस्पर्धा गर्न सुझाव दिँदै उहाँले महानगरका शैक्षिक योजनाहरुमा प्याब्सनले पनि साथ, सहयोग र सुझाव दिनुपर्ने बताउनुभयो । प्याब्सन पर्साका अध्यक्ष पुरण प्रधान र महानगर समितिका अध्यक्ष आलोक चौरसियाको संयुक्त सभापतित्वमा साधारण सभा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय