युएई, २५ माघ । बुधबार चलचित्र विकास बोर्डको आयोजनामा युएईमा हुन गइरहेको ‘नेपाली सिनेमा फेस्टिभल २०२३’ को तयारी तीव्र रूपमा भइरहेको छ । युएईको दुबई सहरमा १२ देखि १५ फेब्रुअरीसम्म चल्ने फेस्टिभलको स्थानीय व्यवस्थापनको जिम्मा एनआरएन युएईले लिएको छ ।
कार्यक्रम व्यवस्थित गर्न एनआरएन युएईको सहकार्यमा नेपाली समाज युएई, नेपाल आदिवासी जनजाति महासंघ युएई, नेपाल पत्रकार महासंघ युएई, अन्तर्राष्ट्रिय कलाकार समाज युएईलगायत युएईमा क्रियाशील नेपाली संघसंस्थाहरूको सहभागिता रहने गरी मूल आयोजक समिति निर्माण गरिएको एनआरएन युएईका अध्यक्ष ठाकुरप्रसाद ढुंगानाले जानकारी दिनुभयाे ।
कार्यक्रमको पहिलो दिन युएईको देइरामा रहेको स्टार सिनेमामा कबड्डी कबड्डी– ४ फिल्म प्रदर्शन हुनेछ । दोस्रो दिन दुबईको होलिडे इन होटेलको सभा हलमा नेपाली सेलेब्रिटीहरूको सांस्कृतिक प्रस्तुतिहरू हुनेछ ।
तेस्रो दिन बरदुबईको अस्कोट होटलमा समूह छलफल (प्यानल डिसकसन) हुनेछ भने उक्त दिन नै दुबई सिटी भ्रमण पनि हुनेछ । कार्यक्रमको अन्तिम दिन पुनः देइरामा रहेको स्टार सिनेमामा ‘ऐना झ्यालको पुतली’ चलचित्रको प्रदर्शन हुने एनआरएन युएईका अध्यक्ष ढुंगानाले जानकारी दिनुभयाे ।
कार्यक्रममा संकलन भएको रकमबाट युएईमा रहेर समस्यामा परेका नेपालीको सहयोगार्थ कोष स्थापना गरिने र उक्त कोषलाई युएईमा रहेका नेपाली संघसंस्थाको समन्वयमा सञ्चालन गरिने ढुंगानाले बताउनुभयाे ।
कार्यक्रमका लागि नेपालबाट विभिन्न कलाकार, पत्रकारको जम्बो टोली युएई आउँदै छ । जसमा ऐना झ्यालको पुतली चलचित्रका प्रोड्युसर रामकृष्ण पोखरेल, भूषण दाहाल, भुवन केसी, शिव श्रेष्ठ, अनमोल केसी, उपासनासिंह ठकुरी, ऋचा शर्मा, प्रशान्त ताम्राकार, नरेश भट्टराई, सन्दीप श्रेत्री, रवि ओड, नर्वदा लकन्दरी, जिया केसी, राज कटुवाल, अर्जुनकुमार डंगोल, प्रकाश भट्टराई, गोविन्द शाही, रामबाबु गुरुङ, प्रकाश सुवेदी, समीर बलामी, अनुप भट्टराई, विष्णु शर्मालगायत करिब ४० जना सहभागी हुनेछन् ।
कार्यक्रम सफल बनाउन र युएईमा रहेका नेपालीलाई उपस्थित गराउन युएईमा क्रियाशील नेपाली संघसंस्थाले विभिन्न उपसमिति बनाएर तयारी गरिरहेका छन् । स्थानीय रूपमा व्यवस्थापनको जिम्मा लिएको एनआरएन युएईका महासचिव दीपक खड्काले सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयाे ।
चलचित्र विकास बोर्डको योजनाअनुसार आयोजित कार्यक्रमले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन नेपाल सिनेमा फेस्टिभलले ठूलो सहयोग पुर्याउने उहाँले विश्वास व्यक्त गर्नुभयाे ।