स्थानीय तहबाटै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिन सुरु

२०८० बैशाख १४, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कञ्चनपुर, १४ वैशाख । कञ्चनपुरमा स्थानीय तहबाटै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिन सुरु गरेका छन् । जिल्लाका नौमध्ये दुई पालिकाले वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति उपलब्ध गराउन सुरु गरेका हुन् ।

पहिलो पटक बेदकोट नगरपालिकाले वैशाख १ गतेदेखि वैदेशिक रोजगारीका श्रम स्वीकृति दिन सुरु गरेको थियो । नगरपालिकाबाट हालसम्म दुई जनाले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिएको रोजगार संयोजक भोजराज अवस्थीले जानकारी दिनुभयो ।

“अहिले पुरानालाई मात्रै श्रम स्वीकृति दिइरहेका छौँ, स्वास्थ्य परीक्षण र अभिमुखीकरण तालिमका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला चाहिन्छ”, उहाँले भन्नुभयो, “यस्तो प्रयोगशाला प्रदेशमा पनि छैन, त्यसैले नयाँलाई श्रम स्वीकृति दिन सकिएको छैन ।” उहाँका अनुसार नयाँ श्रम स्वीकृति लिनेहरुसँग स्वास्थ्य परीक्षण र अभिमुखीकरण भएमा पालिकाबाटै दिन स्वीकृति लिन सकिने छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका घर भई हाल बेदकोटमा बसोबास गर्ने गोपाल खडायत र बेदकोट नगरपालिका–१० सिसैयाका केशवराज पन्तले युनाइटेड अरब इमिरेट्स (यूएइ)मा जानका लागि पुनः श्रम स्वीकृति नगरपालिकाबाट पाएको रोजगार संयोजक अवस्थीले बताउनुभयो ।
“वैदेशिक रोजगारीमा जाने दुई जनाको पुनः श्रम स्वीकृत भइसकेको छ, अरु दुई जनाको प्रक्रियामा छ”, उहाँले भन्नुभयो, “अनलाइनमार्फत फारम भरेर स्वीकृति लिन सकिन्छ ।”

श्रम स्वीकृतिका लागि सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध हुनुपर्छ । “पुरानो श्रम स्वीकृति, राहदानी, कार्डलगायत कागजपत्र अनलाइनमा प्रविष्ट गर्नुपर्छ”, रोजगार संयोजक अवस्थीले भन्नुभयो, “रु १४ लाखसम्मको साढे दुई वर्षको बीमा पनि हुन्छ ।”

नगरपालिकाले स्थानीय तहमै श्रम स्वीकृति दिन थालेपछि वैदेशिक रोजगारीमा जानेलाई सहज भएको छ । यसले हजारौँ रकम खर्च गरी काठमाडौँ पुगेर घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटेको छ । सदरमुकामको भीमदत्त नगरपालिकाले पनि वैदेशिक रोजगारमा जान चाहनेलाई नगरको रोजगार सेवा केन्द्रबाट पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ ।

भीमदत्त नगरपालिकाले दुई जनालाई सोमबार श्रम स्वीकृति प्रदान गरेको हो । भीमदत्त नगरपालिका–९ का आनन्द सिंह रावत र वडा नं। ८ का भवानसिंह भण्डारीले नगरपालिकाबाट पुनः श्रम स्वीकृति पाउनु भएको छ ।

गत चैत १६ गते मन्त्रीस्तरीय निर्णयबाट वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनुपर्ने निर्णय भएको थियो ।

वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारमा जान चाहने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार