सुन प्रकरण : विमानस्थलबाटै समातिएका अडुकियासहित दुई चिनियाँ नागरिक हिरासतमुक्त

२०८० श्रावण २७, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं , २७ साउन। राजश्व अनुसन्धान विभागले गरेको पत्राचारका आधारमा अध्यागमन विभागको कालोसूचीमा परेका दुई जना चिनियाँ नागरिक हिरासतमुक्त भएका छन् ।

राजस्वले कालोसूचीमा राख्न गरेको अनुरोधका आधारमा अध्यागमन विभागले दुई चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को जिम्मा लगाएको थियो ।

उनीहरुसँगै व्यवसायी रोहन अडुकिया पनि हिरासतमुक्त भएका केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

राजश्व अनुसन्धान विभागले २ साउनमा हङकङबाट आएको करिब एक क्विन्टल सुनसहित ‘ब्रेक शु’ बरामद गरेको थियो । यस प्रकरणमा संगठित अपराधको कसूर आकर्षित हुने देखिएको भन्दै थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो।

राजश्वको पत्राचारपछि अध्यागमन विभागले शुक्रबार रोहन अडुकियालाई पनि समातेको थियो ।

व्यवसायी राकेश अडुकियाका छोरा रोहन दिल्लीबाट आएलगत्तै विमानस्थलबाटै पक्राउ परेका थिए । तर, उनको संलग्नता स्पष्ट देखिने आधार नदेखिएको भन्दै सीआईबीले बुझ्न मानेको थिएन ।

राजश्व अनुसन्धान विभागले पनि ‘त्यससम्बन्धी सबै विवरण सीआईबीतिर गइसकेको’ भन्दै अडुकियालाई जिम्मा लिएका थिएनन् । उनलाई प्रहरीले बोलाएको बेला उपस्थित हुने शर्तसहित छाडिएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय