तीजको मौलिकता संरक्षण गर्नुपर्छ : उपाध्यक्ष राई

२०८० भाद्र १५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १५ भदौ । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष जयन्ती राईले सबै मिलेर तीजको मौलिकताको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठनले तीज पर्वको अवसरमा यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षण गर्नाले मुलुकलाई सांस्कृतिकरूपमा सम्पन्न बनाउन सकिने बताउनुभयो । नेपाल विविधताले भरिएको देश भएकाले यहाँका सबै नागरिकको जातीय, धार्मिक एवं सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउन सबैको ऐक्यबद्धता आवश्यक पर्ने उपाध्यक्ष राईको भनाइ थियो ।

उपाध्यक्ष राईले विविध संस्कृतिले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचारा अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । तीजका गीतको मौलिक पक्षमा छोराछोरीबीचको विभेद, पीडा, सासूबुहारीको कचकच, दुःख, सुखलगायतका विषय समावेश हुनुपर्नेमा जोड दिँदै उहाँले अहिले तीज गीतका विषय पनि परिवर्तन भएकामा चिन्ता व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष बाला अधिकारीले हिन्दू समुदायले मनाउने तीज पर्वलाई अहिले अन्य जातिले पनि मनाउन थालेकामा खुसी व्यक्त गर्दै आधुनिकताले तीजको मौलिक विशेषतालाई असर पार्न नहुने धारणा राख्नुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले सामाजिक रुपान्तरणका लागि तीज पर्वको विशेषता रहेको बताउँदै आफूभित्र भएका पीडालाई गीतका माध्यमबाट बाहिर निकाल्दै संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लो समय तीजका गीत भड्किलो बन्दै गइरहेकाले त्यसतर्फ सबै सतर्क रहनुपर्ने बताउनुभयो ।

सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले महिलाहरू समूहमा भेला भई गीत गाउने प्रचलन रहिआएको तीजमा अहिले रेडियो र टेलिभिजनमा आधुनिक शैलीका गीत र नृत्य गुञ्जिन थालेकाले मौलिकता हराउँदै गएको बताउनुभयो । उहाँले देखासेखीका कारण तीज बढी खर्चिलो हुँदै गएको भन्दै संस्कृति जोगाउन आफ्नो मौलिकतालाई प्राथमिकता दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय