अश्रुधारा बगाई बगाई नरोए है आमा
काखको सन्तान हुँदा खेरि अब सम्झनामा ।।
भक्कानियो मुटु आज न्याउली रोयो वनमा
ओभाएनन् आँखाका डिल चोट लाग्यो मनमा
स्वयम्भुका दुई आँखा नि रसाउँदै झुके
पलभरमै कैंयौ सपना टुटे, रहरहरु छुटे
जवान ज्यान गयो भन्दा मनै कस्तो भयो
बिदेशीने नेपालीको जीवन सस्तो भयो ।।
८० साल असोज २० दिन नै कालो रैछ
बिदेश को भुइँमा ढले दश जना बैँस
खुसी हुँदै गाका थिए नाम र दाम कमाउन
लाउँलाउँ खाउँखाउँ भन्ने बेला पाएनन् रमाउन
जवान ज्यान गयो भन्दा मनै कस्तो भयो
बिदेशीने नेपालीको जीवन सस्तो भयो ।।
छापेको समवेदना देख्दा झस्केको छ तन
उदाउन नपाईं अस्ताउँदा कोपिला झै जन
कालो बादल मडारियो निलो आकाशमा
पढ्न भन्दै गाका सन्तान आउँदा बाकसमा
अश्रुधारा बगाई बगाई नरोए है आमा
काखको सन्तान हुँदा खेरि अब सम्झनामा ।।
टाउकोमा हात लगाई बस्छन् बाबा कुना पसी
होसै छैन आमाको झन् रुन्छिन् पिढिँ बसी
मुर्छा पर्छिन सम्झी सम्झी कोखै रित्तो भयो
चाडवाडको मुखमा दैव हर्ष खोसी लग्यो
अश्रुधारा बगाई बगाई नरोए है आमा
काखको सन्तान हुँदा खेरि अब सम्झनामा ।।
ढलेका त ढलिसके बाँचेकालाई बचाउ
लौन सरकार हतार गरि कदम अघि बढाउ
आत्तिएका मन बुझाउने किरण छरिदेऊ
छ्ट्पटाउँदै बसेकाको उद्दार गरिदेऊ ।
बेला बेला रुवाउनलाई कालो दिन नआओस्
अन्धकार भो चारैतिर घाम फेरि उदाओस् ।।
स्वस्तिका अर्याल
भीरकोट ८, स्याङ्जा