सरकारले व्यवसायीहरुको उचित माग एक वर्षसम्म पनि सम्बोधन गर्न सकेन

२०८० कार्तिक २४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, २४ कात्तिक । सरकारले साना उद्योगी व्यवसायीहरुको प्राथमिताका काम गर्न नसकेको व्यवसायीहरुले गुनासो गरेका छन् ।

शुक्रवार तिहार तथा छट पर्वको अवसरमा नेपाल राष्ट्रिय व्यवसायी महासंघले आयोजना गरेको शुभकामनमा तथा चियापान कार्यक्रममा बोल्दै व्यवसायीहरुले यस्तो गुनासो गर्नुुभएको हो । उहाँहरुले गत वर्ष व्यवसायीहरुले सामान्य माग राखेर सडक आन्दोलन गर्दा समेत सरकारले एक वर्षसम्म माग सम्बोधन नगर्दा व्यवसायबाट पलायन हुने पर्ने अवस्था आएको जिकर गर्नुभएको छ ।

उहाँहरुले बैंकको ब्याजदर सिङ्गल डिजिटमा आउनु पर्ने माग अहिलेसम्म सम्बोधन नभएको बताउनुुभयो । व्यवसायीहरुले सरकारले एक हात उद्योगी व्यवसायीहरुको माग मात्रै सम्बोधन गर्ने तर अर्थतन्त्र चलायमान बनाउन योगदान गर्ने व्यवसायीहरुलाई प्राथमिकता नदिएको बताउनुभयो

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले बैंकको ब्याजदर उच्च हुँदा व्यवसायीहरु मर्कामा परेको बताउनु भयो । उहाँले सरकारले बैंकको ब्याजदर कम गर्ने भने पनि एक वर्षसम्म कम गर्न नसक्दा व्यवसायीहरु बैंकको ब्याज र किस्ता तिर्न नसक्दा व्यवसायको सटर बन्द गरेर वैदेशिक रोजगारीमा जान बाध्य भइरहेको बताउनु भयो । उहाँले सरकारले व्यवसायीहरुका भन्सारका समस्या र बैंकको ब्याजदर घटाउने काम नगरे व्यवसायीहरु पुनः सटर बन्द गरेर सडक आन्दोलन गर्नु बाध्य हुने बताउनु भयो । उहाँले भन्नुभयो,‘सरकारले व्यवसायीहरुको माग सम्बोधन गर्न सकेको छैन । बैंकको ब्याजदर सिङ्गल डिजिटमा ल्याउनु पर्ने भए पनि अहिलेसम्म १४ प्रतिशत भन्दा कम हुन सकेको छैन । व्यवसायीहरु बैंकको किस्ता र ब्याज दिन नसकेर व्यवसायीक सटर बन्द गरेर बस्नु पर्ने अवस्था सिर्जना भएको छ । तर पनि सरकारले उचित मागहरु सम्बोधन गर्ने काम नगर्दा व्यवसायीहरु व्यवसाय छाडेर सडक आन्दोलन गर्ने वातावरण सरकारले बनाई रहेको छ ।’ उहाँले व्यापार व्यवसायमा आएको मन्दिको कारण अर्थतन्त्रमा समस्या परेको भन्दै सरकारले अर्थतन्त्र चलायमान बनाउनको लागि लगानीको वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले व्यवसायीहरु व्यवसाय गर्ने वातावरण नभएको अवस्थामा व्यवसायीहरु एक जुट भएर सरकारलाई दबाब दिन आवश्यक रहेको बताउनु भयो । त्यस्तै,महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले पनि सरकारले पुँजीपति वर्गका व्यवसायीहरुको लागि मात्रै काम गरेको आरोप लगाउनु भयो । उहाँले वास्तविक अर्थतन्त्र चलायमान बनाउने व्यवसायीहरुको पक्षमा काम गर्न नसकेको बताउनु भयो । उहाँले बैंकको ब्याजदर कम गर्न विगत एक वर्षदेखि माग गर्दै आएपनि अहिलेसम्म सरकारले गर्न नसकेको बताउनु भयो । उहाँले अर्थतन्त्रमा परेको असर उद्योगी व्यवसायीहरुमा समेत देखिकाले व्यापार व्यवसायबाट बैंकको किस्ता र ब्याज तिर्न नसक्दा आत्माहत्या गर्ने देखि व्यवसायबाट पलायन हुने अवस्था रहेको बताउनु भयो ।

सरकारले विमानस्थलबाट दैनिक हजारौं युवाहरु विदेश जाने क्रम रोक्न आवश्यक रहेको बताउनु भयो । सरकारले व्यवसायी मैत्री वातावरण नबनाएसम्म अर्थतन्त्रमा समस्या आउने उल्लेख गर्नु भयो । चियापान कार्यक्रममा महासंघका सम्पूर्ण पदाधिकारीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय