पूर्व वडाध्यक्षको घर हटाउन अख्तियारको निर्देशन

२०८० फाल्गुन ९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रकाश डोटेल
स्याङ्जा, ९ फागुन । स्याङ्जाको हरिनास गाउँपालिका वडा नं. ५ का पूर्व वडाध्यक्ष डण्डबहादुर रानाको घर हटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले निर्देशन दिएको छ । सार्वजनिक जग्गा हडपेर घर बनाएको देखिएपछि अख्तियारले उक्त निर्देशन दिएको हो ।

स्याङ्जा जिल्ला साविक चिन्नेबास गाविस वडा नं. ७ को हाल हरिनास गाउँपालिका वडा नं. ५ को कित्ता नं. ५३७ को सार्वजनिक जग्गा हडपेर घर बनाएको आरोप लागेपछि अख्तियारले घर हटाउन निर्देशन दिएको छ । स्थानीय तह निर्वाचन २०७४ मा राना एमालेबाट उक्त वडाको वडाध्यक्ष बनेका थिए ।

उक्त कित्ताको जग्गा जंगल जनिएको भन्दै अख्तियार कार्यालयले घर हटाउन निर्देशन दिएको जनाएको छ । बनेको पक्की तथा कच्ची संरचना हटाउन जिल्ला प्रशासन कार्यालय र सरकारी, सार्वजनिक सम्पत्ति संरक्षण गर्न हरिनास गाउँपालिकालाई अख्तियारले जारि गरेको निर्देशनात्मक पत्रमा उल्लेख गरिएको छ ।

अख्तियारले आफ्नो ऐन, २०४८ को परिच्छेद–६ अन्र्तगत दफा २८ अनुसार आयोगले सुझाब दिन सक्ने उपदफा ‘ख’ बमोजिम गएको माघ ९ गते उक्त निर्देशन दिएको हो । अख्तियारले पत्रमा निर्देशन तत्काल कार्यान्वयन गरि जानकारी गराउन समेत भनेको छ ।

वडाध्यक्ष बनेपछि रानाले डोजर खरिद गरेर गाउँपालिका अन्र्तगत काम गरेर अबैध रुपमा अकुत कमाएको स्थानीयले आरोप लगाएका छन् । पालिका र वडामा आफ्नै सरकार बनेको भन्दै उनले एकलौटी काम गरेर अकुत आर्जन गरेको स्थानीयको आरोप छ ।

उता उनै पूर्व वडाध्यक्ष रानाले अबैध ढुङ्गा खानी संचालन गरेको स्थानीयले बताएका छन् । अबैध ढुङ्गा खानीबाट ढुङ्गा निकालेर तनहुँको दुलेगौडा, पाल्पाको रामपुर र पोखरामा अबैध निकासी गर्दै आएको स्थानीयले बताए ।

२०७४ देखि २०७९ को ५ वर्ष अवधिमा बंगुर फार्म खोलेर रानाले गाउँपालिकाबाट कृषि अनुदान हत्याएको पालिका श्रोतले जनाएको छ । पालिका श्रोतका अनुसार बंगुर फार्मका नाउँमा उनले वर्षेनी ३ देखि ५ लाख कृषि अनुदान लिएको बताईएको छ ।

गाउँपालिकाका अध्यक्ष खिमबहादुर मानन्धर र पूर्व वडाध्यक्ष रानाका बिरुद्ध अख्तियारमा दर्जनौ उजुरी दर्ता भएको श्रोतले नाम उल्लेख नगर्ने शर्तमा जनाएको छ । दर्जनौ उजुरी दर्ता भएका छ र उजुरी उपर छानबिन गरी कारबाहीको प्रक्रिया समेत अगाडी बढेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय