विद्यार्थीले पढाइ र परिक्षा तयारि कसरि गर्नु उपयुक्त?

२०८० फाल्गुन १२, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 5 मिनेट

विद्यार्थीले पढाइ र परिक्षा तयारि कसरि गर्नु उपयुक्त?

एसईईलगायत कक्षा १२ को परीक्षा पनि नजिक आइरहेको छ । विद्यालय र कलेजमा धेरै विद्यार्थीहरू पढ्ने तरिका नजानेर असफल भइरहेका हुन्छन् । कैयौँ विद्यार्थीले पढ्न कोसिस गर्छन्, समय पनि दिन्छन् तर सही तरिकाले नपढेर राम्रो गर्न सकिरहेका हुँदैनन् । शिक्षण संस्थाका कक्षामा विषयवस्तु विद्यार्थीमाझ खन्याइन्छ । तर, पढ्ने वैज्ञानिक तरिकाका बारेमा ज्यादै कम मात्रै बताइएको हुन्छ । परीक्षाका लागि मात्रै पढिएको पढाइ निकै कच्चा हुन्छ । यसले प्रतिस्पर्धात्मक आजको समयमा अगाडि बढ्न गाह्रो हुन्छ । आफ्नो क्षेत्रमा उत्कृष्ट बन्न गहिरो र बहुआयामिक ढंगले पढ्नुपर्नेहुन्छ । पढाइमा राम्रो गर्न पनि मिहिनेत अवश्य गर्नुपर्छ ।

अध्ययन गर्ने शैली र तरिका व्यक्तिअनुसार फरक हुन सक्छ । आइन्स्टाइनको भनाइमा उनले कुनै तथ्य सिक्नुअघि त्यसको चित्र कल्पनामा उतार्थे । पढाइ र परीक्षालाई राम्रो बनाउन खानपान र जीवनशैली पनि ठीक हुनुपर्छ भन्ने कुरा अध्ययनहरूले सिद्ध गरेका छन् । यस लेखमा त्यस्ता केही उपायबारे चर्चा गर्नेछौँ ।

विषयवस्तु बुझेर गहिराइमा पढ्ने

पढाइमा राम्रो गर्न विद्यार्थीले विषयवस्तु बुझेर पढ्नुपर्छ । कक्षामा शिक्षकले व्याख्या गर्दैगर्दा विद्यार्थीले बुझ्ने कोसिस गर्नुपर्छ र घरमा आएर त्यसलाई आफुले दोहोर्‍याउने प्रयत्न गर्नुपर्छ । अरु सन्दर्भ सामग्रीबाट थप सूचना र आइडिया लिने कोसिस गर्नुपर्छ । आफ्नै शब्दमा लेख्न अभ्यास गर्नुपर्छ । नबुझीकन अन्धो रटानले स्मरण गर्न गाह्रो हन्छ नै, त्यसले माथिल्ला कक्षाहरूको पढाइलाई पनि सहज बनाउँदैन । स्मृतिमा आधारित पढाइले भविष्यमा करिअरका लागि प्रतिस्पर्धामा पनि पछाडि पार्छ । यस्तो पढाइले जीवनलाई सजिलो बनाउन मद्दत गर्दैन । विद्यालयको आधारभूत तहदेखि विश्वविद्यालयसम्म विद्यार्थीले बुझेर पढ्ने बानी बसाल्नुपर्छ । शिक्षक र अभिभावकले यसमा मद्दत गर्नुपर्छ । विज्ञान र गणित मात्रै होइन, पढाइ हुने सबै विषय बुझ्न सकिएन वा थालिएन भने पढाइ गाह्रो हुन्छ । पट्यारलाग्दो हुन्छ । परीक्षामा राम्रो गर्न सम्भव हुँदैन । कक्षामा शिक्षकले पढाइरहेको समयमा पूरै ध्यान दिनुपर्ने हुन्छ । सिक्न चाहने व्यक्ति सकेसम्म अगाडिको बेञ्चमा बस्न चाहन्छ । कुनै दिन कक्षामा सहभागी हुन सकिएन भने साथी वा शिक्षकसँग छुट्टै समय लिएर सिक्नुपर्छ । दिउँसो कक्षामा लेखिएको नोट/पढिएको पाठ बेलुका घरमा आएर रिभ्यु गर्नैपर्छ ।

लेख्दै पढ्ने

स्कुलदेखि नै विद्यार्थीले लेख्दै पढ्ने बानी बसाल्नुपर्छ । धेरै विद्यार्थीले आँखाले हेरर मात्रै पढ्ने गर्छन् । यस्तो पढाइ एकछिनसम्म सम्झिए पनि अर्को दिन बिर्सिइन्छ । लेख्न अल्छी मान्नाले पढाइमा प्रगति हुँदैन । हातले लेख्दै गर्दा मस्तिष्कका न्युरोन्सहरू बढी सक्रिय हुन्छन् । यो सिकाइ लामो समयसम्म स्मृतिमा रहन्छ । यसले परीक्षामा लेख्न सक्छु वा सक्दिनँ भन्ने कुराको हेक्का विद्यार्थी आफैँले गर्न सक्छ । केही कुरा किताब वा नोटबाट पढिसकेपछि विद्यार्थीले त्यसलाई पटकपटक कापीमा लेखेर आफ्नो परीक्षा आफैँ लिने गर्नुपर्छ । यो तरिका लोकसेवाको तयारीलगायत सबै तहमा अध्ययन गर्दै गरेका विद्यार्थीका लागि उत्कृष्ट तरिका हो ।

गहिरो निद्रा

अध्ययनहरूले विद्यार्थीको निद्रा र उसले प्राप्त गर्ने ग्रेडको बीचमा अन्योन्याश्रित सम्बन्ध रहन्छ, ‘मसाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी’का प्राध्यापकहरूले गरेको अध्ययनले यो निस्कर्ष निकालेको हो । यसको अर्थ परीक्षाको अघिल्लो रात ८/९ घण्टा सुतेपछि पर्याप्त हुन्छ भन्ने होइन । यसको अर्थ त परीक्षाअगाडि कैयौँ दिनसम्म पर्याप्त निद्रा आवश्यक पर्छ भन्ने हो । प्रत्येक दिनको मीठो निद्राले मानसिक स्फुर्ति पाउँछ । मस्तिष्कले पर्याप्त आराम पाउँछ र मस्तिष्क नयाँ ज्ञान, सिकाइ र सिर्जनाका लागि तयार हुन्छ । केवल घण्टा पुर्‍याउने निद्रा मात्र महत्त्वपूर्ण छैन, निद्रा गुणस्तरीय र गहिरो हुनुपर्ने विज्ञहरू बताउँछन् ।

अध्ययन गर्ने ठाउँ बदल्ने

सधैँभरि एकै ठाउँमा बसेर अध्ययन गर्नुभन्दा समय–समयमा फरक–फरक ठाउँ र वातावरणमा बसेर अध्ययन गर्दा स्मृति प्रभावकारी हुने अध्ययनले बताउँछ । घरभित्रै पनि फरकफरक ठाउँ र कोठामा, कहिले कफी सपमा त कहिले पुस्तकालयमा अध्ययन गर्दा स्मृति बढ्न मद्दत गर्छ ।

स्वस्थ खानेकुरा

शारीरिक रूपमा स्वस्थ रहन मात्रै होइन, मानसिक रूपमा सबल रहन पनि खानेकुरा स्वस्थ खानु आवश्यक छ । हाम्रो नेपाली समाजमा बिस्तारै जंक फुड, तारेका र बढी चिल्लोयुक्त खानेकुरा, इनर्जी ड्रिंक्सहरूले स्वस्थ खानेकुरा विस्थापित गर्दैछन् । निकोटिन, क्याफिनयुक्त खानेकुराले शरीरमा एक्कासि डोपामाइन हर्मोनको मात्रा उकास्छन् र केही छिनपछि खसाल्छन् । यसले दीर्घकालीन असर गर्छ । जंक फुड, इनर्जी ड्रिंक्स जसले क्षणिक शक्ति पैदा गर्छन्, सवेन गर्न हुँदैन । यस्ता खानेकुरा ‘बेस्ट ब्रेन’का लागि हानिकारक छन् । यिनले आलस्य र बोधो दिमाग बनाउन मात्रै सहयोग गर्छन् ।

यसको सट्टा सन्तुलित भोजन जस्तै; प्रोटिन, ओमेगा–३, उच्च फाइबरयुक्त खानेकुरा, फलफूल, तरकारी, गेडागुडी, अण्डा, काजु, बदाम, ओखर आदिले ध्यान केन्द्रित गर्न, स्मरण शक्ति बढाउन र दिमागका अरु कार्यलाई प्रभावकारी बनाउने कुरा विज्ञहरू बताउँछन् ।

एकपटकमा एक च्याप्टरको तयारी

एकपटकमा सिंगो किताब सरसर्ती पढ्नुभन्दा पाठ्यक्रमको कुनै एक च्याप्टर तयारी गर्न बढी बद्धिमानी हुन्छ । सम्बन्धित च्याप्टरसँग सम्बन्धित नोट, शीर्षक, उपशीर्षक, चार्ट, चित्र, तथ्यांक, सूचना, परिभाषा, व्याख्याको गहन अध्ययन गर्नुपर्छ । आफूले पढिसकेपछि आफ्नै शब्दमा त्यसको सारांश लेख्ने गर्नुपर्छ । त्यसका मुख्य बुँदाहरू टिपोट गर्ने गर्नुपर्छ । जब आफूले जानेका विषय कक्षामा, घरमा अरुलाई सिकाइन्छ, त्यसपछि सिकाइ दिगो हुन्छ । शिक्षकले आफूले जानेका कुरा कक्षामा अरुलाई सिकाइरहन्छन्, त्यस कारण उनीहरूले बिर्सिंदैनन् भन्ने रहस्य विद्यार्थीले बुझ्नुपर्छ । विषयवस्तुसँग सम्बन्धित प्रश्नोत्तरहरू आफैँ गर्ने, प्रश्नहरू खोज्ने र प्रश्नहरू सिर्जना गर्ने गर्नुपर्छ । अझ भनौँ, आफ्नो शिक्षक आफैँ बन्नुपर्छ । सकिन्छ भने उक्त विषयवस्तुलाई जीवनका घटनासँग जोड्न प्रयत्न गर्ने । भविष्यमा यसको प्रयोगबारे सोच्ने । यसले गर्दा पढाइ मजबुत हुन्छ । दिगो हुन्छ । स्मृतिमा रहिरहन्छ । करिअर बनाउने बेलामा यसले धेरै मद्दत गर्छ ।

नियमित अभ्यास

पढेको कुरा लामो समयसम्म पुनःस्मरण गरिएन भने बिर्सन सकिन्छ । त्यसैले आज कक्षामा पढेका कुरा भोलि र पर्सि नियमित रूपमा दोहोर्‍याउनुपर्छ । त्यसको एक हप्ता, दुई हप्ता र एक महिनापछि ५/१० मिनेट पुनरावलोकन र समीक्षा गरिरहनुपर्छ । यो उपायले विषयवस्तुलाई ताजा बनाइराख्छ । एकपटक पढेपछि परीक्षाअघि मात्रै पढ्ने बानीले अधिकांश विद्यार्थीको परीक्षा बिग्रिरहेको हुन्छ, किनकि परीक्षाअघि सबै बिर्सिसकिएको हुन्छ । सबै कुरा पढ्न परीक्षाको अघिल्लो दिन भ्याइँदैन । परीक्षाका अघिल्ला एक/दुई दिन रातभरि घोक्ने मात्रै गर्नाले त्यस्तो पढाइ जीवनमा उपयोग हुँदैन ।

नोटका प्रमुख बुँदाहरूलाई रंगीन बनाउने

पाठ्यपुस्तक र आफूले तयार पारेको नोटमा महत्त्वपूर्ण बुँदाहरूलाई रंगीन कलमले ‘हाइलाइट’ गर्न सकिन्छ । महतत्वपूर्ण बुँदाहरूलाई रातो र पहेँलो रङले हाइलाइट गर्नाले परीक्षाको समयमा वा अरु बेलामा सरसर्ती समीक्षा गर्न सजिलो पर्छ । तर, सबै कुरा हाइलाइट गर्नु हुँदैन, मात्र महतत्वपूर्ण सूचना र बुँदाहरू मात्र हाइलाइट गर्नुपर्छ । अध्ययनहरूले रङ र मानिसको संवेग र स्मृतिको बीचमा गहिरो सम्बन्ध रहेको देखाएका छन् । रङले सिकारुको संज्ञानात्मक विकास र दिगो सिकाइलाई मजबुत पार्ने रहेछ ।

माइन्ड म्यापिङको शक्ति

यदि तपाईं चित्रात्मक ढंगले छिटो सिक्ने खालको हुनुहुन्छ भने ‘माइन्ड म्यापिङ’ एक प्रभावकारी तरिका हो । यसले तपाईंलाई कुनै विषयवस्तुका सबै सूचना एक ठाउँमा संगठन गर्न सघाउ पुर्‍याउँछ । यसमा तपाईंले खाली पृष्ठको बीचमा विषयवस्तुको शीर्षक लेख्न सक्नुहन्छ र त्यसको वरिपरि शीर्षकसँग सम्बन्धित उपशीर्षक, सूचना, बुँदाहरू लेखेर जोडेर एउटा नेटवर्क तयार पार्न सक्नुहुन्छ । यसले तपाईंको विषयवस्तुको बुझाइलाई दिगो मात्रै होइन, फराकिलो पनि बनाइदिन्छ ।

सुत्नुअगाडिको पढाइको महत्त्व

हामी सुतेको समयमा मस्तिष्कले स्मृतिहरू संकलन गर्ने गर्छ । बेलायतको योर्क विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा सुत्नुभन्दा अगाडि गरिने केही घण्टाको अध्ययनले पढेका कुरालाई प्रशोधित हुने निष्कर्ष निकालेको छ । अनुसन्धानकर्ता स्कोट केइर्नेइ भन्छन्, ‘जब तपाईं ब्युँझिनुहुन्छ, तपाईंले नयाँ कुरा सिक्नुहुन्छ तर जब तपाईं सुत्नुहुन्छ, तपाईंले त्यसलाई प्रशोधित गर्नहुन्छ ।’ अध्ययनहरूका अनुसार कुनै कुरा सिकेको १२ घण्टासम्म पनि सुतिएन भने बिस्तारै त्यो विस्मृतितिर जान्छ ।

विश्राम गर्दै पढ्दै

परीक्षाको तयारी गर्दैगर्दा वा अरु समयमा पढ्दा एकै बसाइमा घण्टौँसम्म पढ्नुलाई प्रभावकारी मानिँदैन । एक बसाइमा ४०/५० मिनेट वा १ घण्टा प्रभावकारी रूपमा पढेपछि १०/१५ मिनेट आराम गर्नुपर्छ । उक्त समयमा संगीत सुन्न सकिन्छ । नाच्न सकिन्छ । प्राणायाम, ध्यान वा साधारण शारीरिक कसरत गर्न सकिन्छ । यसले दिमागले आराम गर्ने र शक्ति पुनःप्राप्ति गर्ने समय पाउँछ ।

अरुलाई सिकाउने

जब आफूले जानेका विषय कक्षामा, घरमा अरुलाई सिकाइन्छ, त्यसपछि सिकाइ दिगो हुन्छ । यसबाट आफ्नै पनि मूल्यांकन हुन्छ । कुनै विषय बिर्सेको भए फेरि अध्ययन गर्न मौका प्राप्त हुन्छ । शिक्षकले आफूले जानेका कुरा कक्षामा अरुलाई सिकाइरहन्छन्, त्यस कारण उनीहरूले बिर्सिंदैनन् भन्ने रहस्य विद्यार्थीले बुझ्नुपर्छ ।

सञ्चार प्रविधि र सामाजिक सञ्जालबाट पढाइ गर्ने

टीभी, मोबाइल र सामाजिक सञ्जालमा जोडिँदै वा साथीसँग च्याट गर्दै पढ्न बस्नु ज्यादै खराब कुरा हो । यसले पढाइमा ध्यान केन्द्रित गर्न बाधा पुर्‍याउँछ । गहिरो अध्ययनलाई निरुत्साहित गर्छ । यसरी पढ्नु केवल समयको बर्बादी हो । एउटा तिरले दुईवटा चरा मार्न खोज्नु मूर्खता हो । पढ्ने समय यी सबै कुराबाट अलग रहनुपर्छ ।

पढ्नुअगाडि शारीरिक अभ्यास

प्रत्येक दिन आधा घण्टाको शारीरिक अभ्यासले शारीरिक मात्र होइन, मस्तिष्कको कार्यलाई समेत राम्रो बनाउँछ । यसले रक्तसञ्चार बढाउँछ । मस्तिष्कमा आवश्यक पोषणहरू पुग्न पाउँछन् नि, जसले ध्यान केन्द्रित गर्न र स्मृतिलाई बलियो बनाउँछ । बीचबीचमा पानी पिउनाले मस्तिष्कलाई सक्रिय र ताजा बनाइदिन्छ

यसरि माथि उल्लेखित उपायहरुका अतिरिक्त अन्य उपायहरूको प्रयोग वाट विद्यार्थी भाइबहिनीहरुले आफ्नो अध्ययन लाइ अगाडि बढाएमा परिक्षाको संहारमा रहेका विद्यार्थीहरुको परिक्षा तयारि पनि राम्रो हुने र परिक्षा को नतिजा पनि सुखद बनाउन मद्दत मिल्नेछ। अन्तिम परिक्षाको तयारिमा रहनुभएका सम्पुर्ण विद्यार्थीहरुलाइ सफलताको शुभकामना।।

शिक्षक :  प्रकाश कोइराला

सरस्वती मावि पुतलीबजार ३ गैह्रीखेत

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय