निगमलाई न्यारोबडी भाडामा दिन ७ कम्पनी इच्छुक, ३ महिनाभित्र दुईवटा जहाज आउने

२०८० चैत्र १३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १३ चैत । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेवानि)लाई अन्तर्राष्ट्रिय उडानको लागि दुईवटा एयरवसका न्यारोबडी जहाज भाडामा दिन सातवटा कम्पनीले इच्छा देखाएका छन् । निगमले एयरबसको ए ३२०(२०० सिरिजका १५८ सिट क्षमताका जहाज भाडामा लिन खोजेको हो ।

निगमले हाल उडान गरिरहेकै क्षमताका दुईवटा न्यारोवडी जहाज भाडामा ल्याएर उडान गर्ने विषयमा अध्ययनसमेत गरेर प्रस्ताव माग गरेको थियो । ४५ दिनको समय दिएर मागको प्रस्तावको अन्तिम दिन गत शुक्रबारसम्ममा ७ वटा कम्पनीले आवेदन दिएको वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले बताउनुभयाे ।

कुन कुन कम्पनीले आवेदन दिए भनेर अहिले नै भन्न भने नमिल्ने उहाँको भनाइ छ । आवेदन दिएका कम्पनीको नाम सार्वजनिक गर्दा अनावश्यक दबाब पर्ने उहाँले बताउनुभयाे ।

‘आवेदन परेका कम्पनीमध्येको प्रस्तवमाथि अब निगमले मूल्यांकन गर्छ । सबै कम्पनीको प्राविधिक प्रस्ताव मूल्यांकन गरी आर्थिक प्रस्ताव हेरेर टुंगोमा पुग्न करिब एक महिना लाग्छ’ उहाँले भन्नुभयाे ।

प्राविधिक र आर्थिक दुबैतर्फ उपयुक्त देखिएको कम्पनीलाई छनोट गरेर निगमले दुईवटा न्यारोबडी जहाज भाडामा लिने छ ।

निगम सञ्चालक समिति सदस्य किशोर प्रधानको संयोजकत्वमा गठित उपसमितिले वेट लिज (क्याप्टेन, इन्जिनियर र एयर होस्टेजसहितको जहाज भाडामा)ल्याउन सकिने गरी अध्ययन सम्पन्न गरेर निगमलाई प्रतिवेदन बुझाएको थियो।

सोही प्रतिवदेनका आधारमा निमगले न्यारोबडी जहाज भाडामा लिने सार्वजनिक प्रस्ताव आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार