राजनीति र शिक्षा दुवै क्षेत्रका चम्किला तारा स्व.काजिमान श्रेष्ठ

२०८० चैत्र १७, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्वर्गीय काजिमान श्रेष्ठको जन्म हालको पुतलीबजार नगरपालिका वडा नं ३ स्थित पुतलीखेतमा वि सं १९८९ सालमा भएको हो । पुतलीखेत निवासी संख्यनारायण श्रेष्ठका दुई भाइ छोरा थिए– काजीमान श्रेष्ठ र गोपालमान श्रेष्ठ । दुईमध्ये काजिमान श्रेष्ठ जेठा हुनुहुन्छ भने कान्छा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा शिक्षामन्त्री नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठ हुनुहुन्छ ।

काजिमान श्रेष्ठमा सानैदेखि राजनैतिक चेतना रहेको पाइन्छ । श्रेष्ठ २००७ सालको प्रजातान्त्रिक आन्दोलनका स्वतन्त्र सेनानी रहेको जानकारहरु बताउनुहुन्छ । २०१४ सालको भद्र अवज्ञा आन्दोलनमा सहभागी भएर उहाँले आफूलाई निरङ्कुश सरकारका विरुद्ध खरो रुपमा उतार्नु भयो । यस क्रममा उहाँ तत्कालीन नुवाकोट प्रहरीबाट पक्राउ पर्नुभयो र जेल बस्नुभयो ।

जमानसिंह गुरुङ अध्यक्ष भएका बेला उहाँ स्याङ्जा काङ्ग्रेसको जिल्ला सचिवसमेत हुनुभएको थियो । उहाँ २०४९ सालको निर्वाचनमा पुतलीबजार गाउँ विकास समितिको अध्यक्षसमेत हुनुहुन्थ्यो । उहाँ राजनीतिजस्तै शिक्षाको क्षेत्रमा पनि अगाडि हुनुहुन्थ्यो । उहाँले स्याङ्जाको शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ । खासगरी स्याङ्जा जिल्लाको सदरमुकाममा अवस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयको स्थापनामा उहाँको महत्वपूर्ण भूमिका छ ।  काजीमान श्रेष्ठले स्थापनामा महत्वपूर्ण भूमिका खेलेको त्यस विद्यालयको अभिभावकीय भूमिका काजिमान श्रेष्ठको देहावसानपछि उहाँकै भाइ पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले गर्दै आउनुभएको छ ।

त्यस्तै एउटा विद्यालयले मात्रै विद्यार्थी र समुदायको चाहना पूरा नहुने देखेपछि काजिमान श्रेष्ठले पुतलीखेत कुमालगाउँमा वि सं २०२७ सालमा विद्यालय खोल्नुभएको थियो, जुन विद्यालयको नाम काजीमान हरिटीका माध्यमिक विद्यालय हो । उहाँ र उहाँको परिवारले स्थापना गरेको हुनाले त्यस विद्यालको नाम काजीमान हरिटीका माध्यमिक विद्यालय राखिएको पाइन्छ । उहाँका हरिकुमारी र टीकाकुमारी गरी दुई श्रीमती हुनुहुन्थ्यो ।

काजीमान श्रेष्ठको परिवारले स्थापना गरेको काजिमान हरिटीका माध्यमिक विद्यालय स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं ३ पुतलीखेतस्थित कुमाल गाउँको सुन्दर रमणीय स्थानमा अवस्थित छ । यस विद्यालयमा शिशु कक्षादेखि १२ कक्षासम्म पढाइ सञ्चालन हुँदै आएको छ । स्याङ्जाको शैक्षिक इतिहासमा यो विद्यालयको पनि महत्वपूर्ण भूमिका रहँदै आएको पाइन्छ । यसरी राजनीति र शैक्षिक दुवै क्षेत्रमा उत्तिकै महत्वपूर्ण भूमिका खेल्ने बहुमुखी व्यक्तित्व काजिमान श्रेष्ठको देहावसान वि सं २०५३ सालमा भएको थियो ।

युवराज पौडेल
आँधीखोला ५, स्याङ्जा
(लेखक स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माणमा संलग्न हुनुहुन्छ )

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय