स्याङ्जा दुध, अण्डा र मासुमा आत्मनिर्भर

२०८० चैत्र २१, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रकाश डोटेल
स्याङ्जा, २१ चैत्र । स्याङ्जा उत्पादन र खपतका हिसाबले दुध, अण्डा र मासुमा आत्मनिर्भर बनेको छ । भेटेरनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले उपलब्ध गराएको तथ्याङ् अनुसार स्याङ्जा दुध, अण्डा र मासुमा आत्मनिर्भर बनेको हो ।

दुई लाख ५३ हजार २४ जनसंख्या रहेको जिल्लामा वार्षिक दुई करोड ८४ लाख ६३ हजार लिटर दुध उत्पादन हुन्छ । वार्षिक प्रतिव्यक्ति न्युनतम ९१ लिटर दुध उपभोग गर्नुपर्छ । प्रतिव्यक्ति एक सय १२ लिटर दुध उपलब्धता भएको स्याङ्जाबाट आन्तरिक खपतपछि ५३ लाख १३ हजार पाँच सय चार लिटर दुध निकासि हुँदै आएको छ ।

जिल्लामा खासगरी भैसी र गाईको दुध उत्पादन हुँदै आएको छ । आन्तरिक खपत र निकासी हुने दुधमा भैसीको २६ हजार सात सय १३ र गाईको एक हजार सात सय ५० मेट्रिकटन दुध उत्पादन हुने गरेको पशु विज्ञ केन्द्रका वरिष्ठ पशु चिकित्सक रुपेश श्रेष्ठले बताए ।

वार्षिक न्यूनतम ४८ वटा अण्डा उपभोग गुर्नपर्ने मापदण्ड रहेपनि स्याङ्जमा प्रतिव्यक्ति दुई सय ३१ वटा अण्डा उत्पादन हुन्छ । पाँच करोड ८६ लाख २७ हजार अण्डा उत्पादन हुने जिल्लामा उपभोगपछि वार्षिक चार करोड ६४ लाख ८१ हजार आठ सय ४८ अण्डा निकासी हुने गरको कार्यालयले जनाएको छ ।

भीरकोट नगरपालिकाको हेलुस्थित खिलुङ् कालिका एग्रो फार्मले जर्मनी प्रविधिमा दैनिक झण्डै डेढ लाख वटा अण्डा उत्पादन गर्दै आएको छ । जिल्लाका भीरकोट, वालिङ र आसापास क्षेत्रका लेयर्स कुखुरापालक कृषकले पनि अण्डा उत्पादन गर्दै आएका छन् ।

मासुमा समेत आत्मनिर्भर रहेको जिल्लामा वार्षिक ३५ सय ५२ मेट्रिकटन मासु उत्पादन हुदै आएको छ । प्रतिव्यक्ति वार्षिक १४ किलो मासु चाहिनेमा आन्तरिक उत्पादनले जिल्लालाई धानेको छ । मासु उत्पादनमा सबै भन्दा बढि भैसी, राँगा, खसी, बाख्रा र कुखुरा छ भने भेडा र बंगुर सामान्य मात्रामा उत्पादन हुन्छ ।

जिल्लाका पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ्, चापाकोट र आँधीखोलामा बढिमात्रामा दुध उत्पादन हुँदै आएको केन्द्रका पशु विकास अधिकृत गोपाल गिरीले बताए । उनका अनुसार उत्पदनका हिसाबले चापाकोट, बिरुवा, कालिगण्डकीमा बढि मात्रामा मासु उत्पादन हुन्छ ।

६८ हजार नौ सय २३ घरधुरी रहेको जिल्लामा ४५ हजार दुई सय १२ घरपरिवार पशुपालनमा संलग्न छन् । विज्ञ केन्द्रका अनुसार जिल्लामा छ सय १४ बाख्रा, चार सय ८ कुखुरा, दुई सय नौ गाईभैसी फार्म सहित साना र ठूला गरी १४ सय ८९ वटा पशुपंक्षी फार्महरु संचालनमा छन् । दुध, अण्डा र मासु उत्पादनमा वर्षेनी बृद्धि हुदै आएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय