प्रेस युनियनलाई भर्र्याङ् बनाएर नेतृत्व पुग्नेहरु होसियार

२०८१ बैशाख २२, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौ,२२ बैशाख । नेपाल प्रेस युनियनलाई भर्र्याङ् बनाएर नेतृत्वमा पुग्नेहरु होशियार हुन युनियनका अध्यक्ष शिव लम्सालले आग्रह गर्नु भएको छ ।

प्रेस युनियनलाई भर्र्याङ् बनाएर नेतृत्वमा पुगेपछि संगठन बिर्सने परिपाटी बढेको भन्दै त्यस्ता नेतृत्वलाई होशियार हुन लम्सालले आग्रह गर्नुभएको हो । नेपाल पत्रकार महासंघको बैशाख २१ गते काठमाडौमा भएको २७ औं महाधिवेशनको लागि काठमाडौ आएका देशभरका प्रेस युनियन आबद्ध पत्रकारलाई भेला पारेर लम्सालले यस्तो बताउनु भएको हो । महाधिवेशनको अर्को दिन अर्थात् बैशाख २२ गते बिहान बत्तिसपुतलीको अनुपम फुडल्यान्डमा देशभरबाट आएका प्रेस युनियन आबद्ध पत्रकार बीच नेपाल प्रेस युनियन केन्द्रिय समितिले चियापानको आयोजना गरेको थियो । सोही चियापानलाई सम्बोधन गर्दै लम्सालले निर्वाचन जित्न संगठन चाहिने र निर्वाचन जितेपछि संगठन भुल्ने प्रवृत्ति बढेको भन्दै अब त्यस्तो प्रवृत्तिको अन्त्य गरिने समेत बताउनुभयो ।

आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनलाई लक्षित गर्दै लम्सालले अब नेताको खल्तीबाट उम्मेदवार नहुने ठोकुवा समेत गर्नुभयो । उहाँले भन्नुभयो ”अब पत्रकार महासंघको टिकट नेताले दिएर हुँदैन । कामको आधारमा युनियनले तय गर्छ ।” निर्वाचनका बेलामा मात्रै नेतृत्वको लागि हस्तक्षेप लागि नेतालाई सक्रिय नहुन समेत उहाँले आग्रह गर्नुभयो । उहाँले प्रेस युनियनलाई भर्र्याङ् बनाएर महासंघको नेतृत्वमा पुगेपनि गुटबन्दीका कारण आफू आफू बीच मनमुटाव बढेको भन्दै संगठन भित्र गुटबन्दी त्याग्न समेत उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ,”गुटबन्दीका कारण ७ जिल्लामा प्रेस युनियनका साथीहरूले प्रेस युनियनमा साथीहरूलाई नै उजुरी गर्नुभएको छ ।” देशभरका प्रेस कर्मीहरुलाई अन्याय हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै लम्सालले ढुक्क भएर जिल्ला फर्कन समेत आग्रह गर्नुभयो ।

नेपाली काङ्ग्रेसका प्रवक्ता एवम् निवर्तमान मन्त्री डा प्रकाश शरण महतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रममा प्रेस युनियनका सल्लाहकार अनिता बिन्दु,नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्ट लगायतले बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय