वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरण अनलाईन प्रणालीमार्फत हुने

२०८१ जेष्ठ २४, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२४ जेठ । विदेशस्थित नेपाली नियोगहरूबाट हुँदै आएको वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरण अनलाईन प्रणालीमार्फत हुने भएको छ ।

कन्सुलर सेवा बिभागले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमकाबीच उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र श्रममन्त्री डोलप्रसाद अर्यालले उक्त अनलाइन प्रणालीको शुभारम्भ गर्नुभएको हो ।

वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरण गर्दा भौतिकरुपमा नियोगमा उपस्थित हुनुपर्ने अवस्था कम गर्दै लैजाने उद्देश्य अनुरुप सूचना प्रविधिको प्रयोग मार्फत अनलाईनबाट प्रमाणीकरण गर्ने प्रकृयाको सुरुवात गरिएको बिभागले जनाएको छ ।

कार्यक्रममा परराष्ट्रमन्त्री श्रेष्ठले अनलाइन प्रमाणीकरण गर्ने प्रकृया नेपाली दूतावास अवधावीबाट सुरु गरिएको क्रमश अन्य देशमा पनि विस्तार गरिने जानकारी दिनुभयो । यस प्रणालीबाट सम्बन्धी रोजगारदाता र एजेन्सीहरुले अपलोड गरेको कागजपत्रहरु सुरक्षित हुने र यसरी कामका लागि विदेश गएका नेपालीहरु थप सुरक्षित हुने उहाले बताउनुभयो ।

त्यस्तै श्रममन्त्री डोलप्रसाद अर्यालले बैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थीत बनाउदै लैजाने योजना अनुसार सरकारले काम गरिरहेको बताउनुभयो । उहाले फ्रि भिसा फ्रि टिकटको व्यवस्थालाई बढाउदै लैजाने भन्दै हाल ४ प्रतिशत मात्रै सफल कार्यान्वयन भएको उक्त व्यवस्थालाई कम्तीमा पनि १५–२० प्रतिशतसम्म पुराइने जिकिर गर्नुभयो ।
उहाले बैदेशिक रोजगारमा जाने नागरिकलाई नठगिकन पठाउनका लागि पनि म्यानपावरहरुसंग निरन्तर छलफलमा रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय