पोखरामा पहिलोपटक इन्जिनियरहरूको दुई दिने यन्त्र कार्यक्रम हुँदै

२०८१ जेष्ठ २७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

युवराज पौडेल

पोखरा , २७ जेठ । स्वतन्त्र विद्यार्थी परिषद्ले २०८१ सालको असार १ र २ गते पोखरामा पहिलो पटक इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ महोत्सवको रुपमा ”यन्त्र” नाम दिएर कार्यक्रम गर्ने भएको छ ।

उक्त कार्यक्रममा विद्यार्थीहरुका प्रतिभाहरु प्रस्फुटनका अतिरिक्त विभिन्न वर्कसपहरु, टेक्निकल टकसो, वैचारिक बहस, टेक्निकल संवाद, अनुभव साटासाट , विभिन्न खेलकुदहरु, साहित्यक साँझ, साङ्गितिक सन्ध्याहरु पनि आयोजना हुने स्वतन्त्र विद्यार्थी परिषद्का सचिव तथा उक्त कार्यक्रमका संयोजक मिलन डुम्रेले जानकारी दिनुभयो।

डुम्रेले कार्यक्रमको ओैचित्य स्पष्ट पार्दै भन्नुभयो, ”इन्जिनियरिङ भनेको नयाँ सोच र आइडियालाई मूर्त रुप दिने प्रक्रिया भएकाले विद्यार्थीहरुमा भएका प्रतिभाहरुलाई प्रस्टफुटनका लागि यन्त्र कार्यक्रम गर्न लागिएको हो ।”

उक्त कार्यक्रममा देशभरिकै इन्जिनियर र आर्किटेक्टहरु पोखरामा जम्मा हुनेछन् । यस कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएसन केन्द्रीय सभापति डा. हरि बहादुर दर्लामी तथा महासचिव ई। रवि भुषण झा आउनुहुने कार्यक्रम रहेको छ।

त्यस्तै उक्त कार्यक्रममा गोरखाका पालुङ्टार नगरपालिकाका पूर्व मेयर ई. दिपक बाबू कंडेल, नेपाल इन्जिनियर्स एसोसिएसन कै केन्द्रीय सदस्य ई.विद्या बराल, पोखरा विश्वविद्यालयका सहायक प्राध्यापक अजुर्न गौतम, पोखराको सहरी विकासको विषयका जानकार किसान सिंह गुरुङ लगायतका व्यक्तिवहरूको उपस्थिति हुनेछ ।

इन्जिनियर पेसाकै नेपालका हस्तिहरु पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व मिस नेपाल शृंखला खतिवडालाई समेत निमन्त्रणा गरिएको छ । कार्यक्रम दुई दिनको भएकाले विद्यार्थीहरु मात्रै नभइ अभिभावकहरुलाई समेत निमन्त्रणा गर्ने गरि तयारी भइरहेको कार्यक्रम संयोजकले जानकारी दिनुभएको छ।

उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएसन, विश्वविद्यालय र प्राईभेट कलेज, इन्जिनियरको कथा, नेपालमा इन्जिनियरको यथार्थ र इन्जिनियर तथा आर्किटेक्ट भन्ने विषयमा छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रम हुने छ ।

त्यस्तै टेक्निकल टकमा पोखरा इन्जिनियरिङ कलेज देखि लोकसेवासम्म यात्रा, इन्जिनियरदेखि मेयरसम्मको यात्रा, वैदेशिक यात्रा र इन्जिनियर जीवन, समकालीन समयमा आर्टिफिसिल इन्टेलिजेन्टको भूमिका, इन्जिनियरिङ जीवन र महिला, संवाद तथा लिडरसिप क्षमता जस्ता विषयमा हुने छन् भने खेलकुदहरुतर्फ अन्तरकलेज बास्केटबल प्रतियोगिता, अन्तर कलेज इ(स्पोर्ट्स, चेस तथा टेबलटेनिस प्रतियोगिता हुने आयोजकले जनाएका छन् ।

यति मात्रै नभइ कार्यक्रममा विभिन्न फोटोग्राफी, मोडलिङ, लाइभ आर्ट, हाजिरी जवाफ, आइडिया हन्ट, सोलो म्युजिक तथा हेकाथोन हुने छन्। यस्तैगरी वर्कसपमा पोर्टफोलियो वर्कसप, पब्लिक स्किपिङ्ग वर्कसप, इमेल व्यवस्थापन वर्कसप तथा व्यक्तिगत डाटा व्यवस्थापन वर्कसप आयोजना हुने छ। कार्यक्रममा विद्यार्थीहरुबाटै फुड स्टलहरु तथा गेमिङ्ग स्टलहरु पनि राख्ने गरि व्यवस्थापन भइरहेको छ।

२ दिनको कार्यक्रम भएकाले विद्यार्थीहरुलाई ५ बजेपछि पहिलो दिन साहित्यक साँझ र नृत्य प्रतियोगिता गरिएको छ भने दोस्रो दिनमा प्रसिद्ध साङ्गितिक समूह ल्याउने तयारी भइरहेको समेत आयोजकले बताइएको छ। सोमबार उक्त कार्यक्रमको प्रि कार्यक्रमसमेत आयोजना गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय