काठमाडौं, २० असार । खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले दशरथ रंगशालाको स्तरोन्नति गर्ने प्रयास भइरहेको जानकारी गराउनुभएको छ ।
राष्ट्रियसभाको बिहीबारको बैठकमा आफ्नो मन्त्रालयको विनियोजन विधेयक २०८१ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री श्रेष्ठले रंगशालाको अवस्थाका कारण अन्तराष्ट्रिय प्रतियोगीता गर्न अस्वीकृत हुनु उचित नभएको भन्दै स्तरोन्नति गर्ने प्रयास भइरहेको जानकारी गराउनुभएको हो । उहाले धेरै पहिला बनेको रंगशालालाई आधुनिक रंगशालासंग तुलना गर्न उचित नहुने बताउनुभयो । त्यस्तै मन्त्री श्रेष्ठले बृहत् खेलकुदको तयारीका लागि राष्ट्रियस्तरमा १० वटा खेलका दुई सयभन्दा बढी खेलाडीलाई विशेष प्रशिक्षण सञ्चालन गरिएको जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाइ पुरस्कार प्रदान गर्न चार करोड भन्दा बढि बजेटको व्यवस्था गरेको र खेलाडीको बैङ्कखातामा पुरस्कारको रकम उपलब्ध गराउने व्यवस्था मिलाइएको उहाले बताउनुभयो । त्यस्तै उहाले खेलाडीहरुलाई मासिक भत्ता उपलव्ध गराउन दुईकरोड बढिको बजेट छुट्टाइएको भन्दै यसलाई क्रमश बढाउदै लैजानुपर्ने धारणा राख्नुभयो । मन्त्री श्रेष्ठले खेल क्षेत्रसम्बन्धी बिभिन्न नीतिलाई परिमार्जनको तयारी गरिएको जानकारी दिनुभयो ।
त्यस्तै मन्त्री श्रेष्ठले आगामी आर्थिक बर्षमा मूलपानी क्रिकेट रङ्गशाला निर्माण, कीर्तिपुरको क्रिकेट मैदानमा ‘फ्लड लाइट’ जडान, खेलाडी फिटनेस हल, खेलकुद तालिम केन्द्र स्थापना कार्यलाइ प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।