फेरि पनि सडकमा पलेटी कस्न तयार छौं : प्रचण्ड

२०८१ श्रावण १२, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १२ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनबाट नागरिकका अधिकार कटौती गर्न खोजे सडक आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा उनले दुई दलले संविधान संशोधन गर्छु भन्नु शंकाको विषय बाताउनुभएको छ ।

सशस्त्र युद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धी संविधान संशोधनबाट समाप्त पार्न खोजिएको आशंका गर्दै उहाँले भन्नुभयो , ‘फेरि जरुरी पर्छ भने सडकमा पलेटी कसेर भए पनि जनताको साथमा बसेर भए पनि त्यसो हुन दिने छैनौं ।’

समानुपातिक पद्धतिमा थ्रेस होल्ड बढाउने चर्चा भएको भन्दै प्रचण्डले नेपालमा दुई पार्टी पद्धति बेठीक हुने बाताउनुभएको छ । ‘थ्रेस होल्ड बढाएर साना पार्टीलाई निस्तेज बनाउने र तथाकथित दुई पार्टी सिस्टम जो पश्चिमा देशमा चलेको छ, नेपाललाई पनि त्यता लैजान खोजिएको छ ।’

आफू संविधान संशोधन हुनुहुन्न भन्ने पक्षमा नरहेको बरु संविधान संशोधनबाट आदिवासी जनजाति, महिला दलित आदि उत्पीडित समुदायको थप अधिकार ग्यारेन्टी गर्नुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री प्रचण्डले विचौलियाको सेटिङ भत्काउन खोज्दा आफू सरकारबाट बाहिरिनुपरेको पनि टिप्पणी गर्नुभयो ।

‘मैले दलाल पुँजपपतिहरुको सेटिङको अगाडि आत्मसमर्पण गर्न तयार नभएकै कारण, विभिन्न विचौलियाको सेटिङ भत्काउन गरेको प्रयासकै परिणाम आजको राजनीतिक परिस्थिति हो’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय