काठमाडौं,२७ साउन । नेपाल विद्युत् प्राधिकरणले विगत आठ वर्षको अवधिमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ । आर्थिक वर्ष २०७२/०७३ मा प्रणालीबाट २५.७८ प्रतिशत भइरहेको विद्युत् चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०/०८१ मा १२.७३ प्रतिशतमा सीमित गरिएको छ ।
विद्युत् चुहावटमध्ये प्रसारण लाइनतर्फ ३.३३ प्रतिशत र वितरणतर्फ ९.४० प्रतिशत रहेको छ । आठ वर्षअघि २५.७८ प्रतिशत चुहावटमध्ये १९.८० प्रतिशत वितरण र बाँकी प्रसारणतर्फ थियो । विद्युत् चुहावटलाई आव २०७३/७४ मा २२.९० प्रतिशत, २०७४/७५ मा २०।४५ प्रतिशत, २०७५/७६ मा १५.३२ प्रतिशत, २०७६/७७ मा १५.२७ प्रतिशतमा झारिएको थियो । आव २०७७/७८ मा भने चुहावट बढेर १७.१८ प्रतिशत पुगेको थियो । त्यसपछि चुहावटलाई आव २०७८/७९ मा १५.३८ र आव २०७९/८० मा १३.४६ प्रतिशतमा झारिएको थियो ।