तीज गीत प्रतियोगिता एवं परम्परागत रूपमा दर खाने कार्यक्रम

२०८१ श्रावण ३१, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

राजनप्रसाद पौडेल
स्याङ्जा,३१ साउन । स्याङ्जाको भीरकोट  ७ मा रहेको कालिका सामुदायिक पुस्तकालयले यही भदौ १५ गतेका दिन तीज गीत प्रतियोगिता तथा दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ।

साउन ३० गते कालिका सामुदायिक पुस्तकालयको सभाहल भीरकोट नगरपालिका वडा नं ७ बलमाटामा आयोजना गरिएको कार्यसमिति बैठक तथा स्थानीयहरुको भेलाले सर्वसम्मत भदौ १५ गते “महिला सशक्तीकरण, संस्कार शिक्षा र कृषि” शीर्षकमा तीज गीत प्रतियोगिता आयोजना गर्ने सर्वसम्मत निर्णय गरेको हो।

भीरकोट नगरपालिका वडा नं ७ का वडाध्यक्ष ताराप्रसाद अर्याल, कालिका मावि झापाकोटका प्रधानाध्यापक वीरबहादुर क्षत्री, कालिका माविकै शिक्षक नारायण पौडेल, पूर्व प्रशासक तथा समाजसेवी डोलराज पौडेल, पत्रकार राजनप्रसाद पौडेल, जीवन अर्याल, पूर्व बैंकर मेघनाथ अर्याल सहितका करिब ५० जना स्थानीय र कार्यसमितिका सदस्यहरुको उपस्थितिमा उक्त कार्यक्रम गर्ने निर्णय गरिएको हो।

केके हुनेछ कार्यक्रममा मुख्य आकर्षण ?

भदौ १५ गते शनिबार आयोजना हुने उक्त कार्यक्रमको मुख्य आकर्षणको रुपमा परम्परागत शैलीको दर रहने छ। स्थानीय स्तरमा उत्पादन हुने तामाको अचार, गावाको तरकारी सहितको खाजाका परिकार‌लाई दर बनाएर खुवाउने र मौलिकताको सन्देश प्रवाह गर्ने जानकारी कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष श्यामप्रसाद अर्यालले दिए। उनका अनुसार “महिला सशक्तीकरण, संस्कार शिक्षा र कृषि” शीर्षकमा आयोजना गरिने तीज गीत प्रतियोगिता समेत कार्यक्रमको अर्को आकर्षण रहने छ।

कार्यविभाजनका लागि विभिन्न उपसमिति गठन :

भदौ १५ गतेका दिन सम्पन्न हुनेगरी आयोजना गरिएको उक्त प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरी विभिन्न व्यक्तिलाई जिम्मेवारी दिइएको छ। अतिथि सत्कार, मञ्च तथा स्टेज व्यवस्थापन, खानपान व्यवस्थापन, आर्थिक व्यवस्थापन, ब्यानर तथा प्रमाणपत्र व्यवस्थापन, सूचना तथा सञ्चार सामग्री व्यवस्थापन, चिठीपत्र व्यवस्थापन, साउण्ड सिस्टम व्यवस्थापन, भण्डार व्यवस्थापन जस्ता विभिन्न उपसमिति बनाएर फरक(फरक व्यक्तिलाई जिम्मेवारी दिइएको जानकारी कालिका सामुदायिक पुस्तकालयका सचिव शालिकराम अर्यालले दिए।

सहभागी तथा विजेता टीमलाई पुरस्कार :

उक्त तीज गीत प्रतियोगितामा सहभागिता जानाउने हरेक टीमलाई प्रमाणपत्र प्रदान गरिने छ। भने प्रथम, द्वितीय,तृतीय र सान्त्वना हुने टीमलाई क्रमशः रु १५००० (पन्ध्र हजार ) रु १०००० (दस हजार ) रु ५०००  (पाँच हजार ) र रु ३००० (तीन हजार ) नगदसहित प्रमाणपत्र प्रदान गरिने छ। हरेक टीमले तोकिएको १०‌ मिनेटमा आफ्नो प्रस्तुति दिनुपर्ने र वाद्यवादनका लागि आयोजक कालिका सामुदायिक पुस्तकालयले नै टीम व्यवस्थापन गर्ने जनाइएको छ।‌ हरेक टीमले दर्ता गर्दा भने दर्ता शुल्क बापत रु १००० (एक हजार) बुझाउनुपर्ने छ।

यसैबीच कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष श्यामप्रसाद अर्यालका अनुसार पुस्तकालयको शौचालय निर्माणका लागि तीज गीत प्रतियोगिता आयोजना गर्न लागिएको हो। उनका अनुसार दाताहरुले सहयोग गरेको रकममध्ये खर्च कटौती गरी वचत भएको रकमबाट शौचालय निर्माण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय