राष्ट्रिय वाणिज्य बैंकको कोशी प्रदेशका सांसदहरुलाई वित्तीय साक्षरता

२०८१ भाद्र २६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ ,२६ भदौ। राष्ट्रिय वाणिज्य बैंकले कोशी प्रदेश सभाका सांसदहरुका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

मंगलबार कोशी प्रदेश सभाकोे सहकार्य एवं विफक्याब संस्थाको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षत्रीले सांसदहरुलाई वित्तीय साक्षरताको बारेमा स्रोत व्यक्तिको रुपमा सहजीकरण गरेका थिए ।

उक्त कार्यक्रममा कोशी प्रदेश सभाका सभामुख अम्बर बहादुर बिष्टले यस्तो कार्यक्रमको आवश्यकता  बढेको बताउँदै व्यवसायीहरु ब्याजदरको कारणले पलायन हुन सक्ने जोखिम रहेकोले बैंकहरुको ब्याजदर स्थिर हुनुपर्ने बताए ।

त्यस्तै कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवारले वित्तीय साक्षरतालाई विद्यालय तहको पाठ्यक्रममा राख्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले बैंकको वर्तमान अवस्था एवं बैकले अर्थतन्त्रमा गरेको योगदानको बारेमा प्रकाश पारेका थिए ।

पूर्व गभर्नर क्षेत्रीले वित्तीय नीति, मौद्रिक नीति तथा करको माध्यमबाट स्रोत परिचालन, बजेट निर्माण, वित्तीय नीति निर्माणको कानूनी आधार बारेमा प्रकाश पारेका थिए ।

उक्त कार्यक्रममा पैसाको महत्व, पैसाको आदर्शतम उपयोग, मुद्राको महत्व, ब्याजदर, बैंक, उत्पादन र रोजगारी बीचको सम्बन्ध, विकास आवश्यकता छनौट लगायतका विषयमा प्रदेश सभा सदस्यहरुले जिज्ञासा राखेका थिए ।

यसैगरी, सोही कार्यक्रममा संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, कोशी प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुली, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, विफक्याब संस्थाका प्रमुख मनोज रेग्मी लगायत कर्मचारीहरुको उपस्थिति थियो ।

बैंकको हाल ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटीएम र ७३ वटा एक्स्टेन्सन काउण्टर छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय