काठमाडौं, ३० भदौ । नेपाल वायूसेवा निगमको अस्ट्रेलिया उडान तयारी अन्तिम चरणमा पुगेको छ। सिभिल एभिएसन अथोरिटी अफ अष्ट्रेलिया (कासा)ले मागेका आवश्यक कागजात पेश गरिसकेकोले केही प्रक्रियागत कार्यहरु पूरा गरि छिटै नै ल्यान्डिङ अनुमति आउनेमा आशाबादी भएको कुरा निगम उच्च श्रोतले जनाएको छ ।
निगमको दुई वाइडबडी जहाजले जापान र अष्ट्रेलिया उडान थालेपछी भएको जहाजले मात्र अन्य गन्तब्यमा उडान सुचारु राख्न जहाज अपुग हुने भएकोले थप दुई न्यारोबडि जहाजको लिज प्रक्रिया समेत अगाडि बढाइएको श्रोतले बताएको छ ।
राष्ट्रिय ध्वजाबाहक विमान सञ्चालक निगमले अष्ट्रेलियाको सिड्नीमा नियमित उडान सुरु गर्न प्रशासनिक प्रक्रिया लगभग पूरा भएको र त्यहाँको नागरिक उड्डयन सुरक्षा प्राधिकरण सिभिल एभिएशन सेफ्टि अथोरिटी, सीएएसए०ले नेपालको नागरिक उड्डयन प्राधिकरणसंग थप केही जानकारी खोजेकोले बिलम्बित भएको हुन गएको जानकारी दिएको छ ।
निगमले हालै नवनियुक्त संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलाई पेश गरेको तात्कालीक कार्ययोजनामा सिड्नी उडान पहिलो प्राथमिकतामा राखिएको छ। सो उडानका विषयमा निगमले भनेको छ, “सिड्नी उडानका लागि विदेशी विमान सञ्चालन प्रमाणपत्र (एओसी) प्राप्त गर्न कासा(सिभिल एभिएशन सेफ्टि अथोरिटी)का कागजात पेश गरिसकिएको छ । त्यसको मूल्यांकन लगभग सकिएको जानकारी प्राप्त भएको छ । सिड्नीमा भूमिस्थ सेवा प्रदान गर्ने एजेण्ट चयन भैसकेको छ। जहाज अवतरण र उडानको स्लट प्राप्त भइसकेको छ।कासा र सिड्नी एअरपोर्ट अथोरिटी र अन्य सम्बन्धित निकायबाट निगमको उच्च व्यवस्थापनलाई उडान अनुमतिको अन्तिम छलफलका लागि बोलावट भएको छ । छिट्टै प्रतिनिधि मण्डल गएर छलफल गरी उडान अनुमति लिने योजना रहेको छ।”
न्यारोबडी भाडामा लिने प्रस्तावहरुको मूल्यांकन
निगमले सिड्नी उडान थालनी गरेसंगै वाइडबडीमध्ये एक विमान लामो दूरीको गन्तव्यका लागि तयार राख्नुपर्ने भएकोले हाल नियमित उडान भएका गन्तव्यमा भरपर्दो उडान सेवा दिन थप दुई न्यारो बडीको आवश्यकता पर्ने बताएको छ । निगमको वाइड बडी विमानको यात्र सीट संख्या २ सय ७४ रहेको छ । जसमा १८ बिजनेश क्लास र २ सय ५६ सिट इकोनोमिक क्लासका रहेका छन् ।न्यारो बडीमा भने आठवटा विजनेस क्लाससहित १ सय ५८ यात्रु सिट रहेका छन् । यसैले एउटा वाइड बडी चल्ने गन्तव्यमा भरपर्दो सेवा दिन दुई न्यारो बडीका जहाज आवश्यक हुन आउछ ।
निगमले आफूसंग बेडामा रहेकै स्तरका एअरबस निर्मित दुई वटा १ सय ५८ सीटे ए ३२० २०० सेरिजका न्यारो बडी जहाज वेट लिज (एअरक्राफ्ट, क्रु, मेन्टेनान्स र इन्स्योरेन्स, एसीएमआई) मा लिन ६ फेब्रुअरी २०२४ मा ग्लोबल टेण्डर आह्वान गरेको थियो । उक्त टेण्डरमा प्रस्तावदाताहरुले २४ जुलाई २०२४ मा जहाज उपलब्ध गराउने गरी प्रस्ताव माग गरिएको थियो । तर निगम आफैले डेलिभरी दिने निर्धारित मितिसम्म प्राप्त टेण्डरहरुको मूल्यांकन गरेर उत्कृष्ट प्रस्तावदाता चयन गर्न नसकेको हुनाले अहिले प्राविधिक समस्यामा परेको छ ।
प्रस्तावदाताहरुले २४ जुलाई २०२४ देखि लागू हुनेगरी दिएको मूल्य अब मूल्यांकन गरेर प्रस्तावक चयन गर्दा त्यही मूल्यमा दिन मान्छन् कि मान्दैनन् र कानूनीदृष्टिले यो टेण्डर प्रक्रियामा पत्राचारबाट यो विषयमा प्रस्तावदाताहरुले दिने मूल्य पहिलेको भन्दा फरक भएमा त्यसलाई समावेश गर्न मिल्छ कि मिल्दैन रु भन्ने जटिल प्रश्न निगम व्यस्थापनसामु आएको छ । यही टेण्डर प्रक्रियालाई नतिजामा पुर्याउन मिल्ने भएमा जहाज भाडामा लिने विषय चाँडो टुंगिन सक्छ र पुनः टेण्डर गर्ने प्रक्रियामा गए केही बिलम्ब हुन सक्छ । यद्यपि निगमका उच्च व्यवस्थापकहरु सिड्नी उडान कन्फर्म भएपछि पनि टिकट बिक्री र बजार व्यवस्थापनका लागि झण्डै २ महिनाको समय लाग्ने भएकोले त्यतिबेलासम्म पुनः टेण्डरबाट पनि थप न्यारोबडी ल्याउन सक्ने बताउछन् ।
निगमले आफ्नो बिजनेश प्लानमा आगामी १० बर्षमा अन्तर्राष्ट्रिय उडानतर्फ थप ६वटा जहाज थप्ने योजना बनाएको छ । जसमा ४ वटा न्यारोबडी र २ वटा वाइडबडी रहेका छन् ।
ट्रंक रुट र स्टल एअरपोर्टमा उडने विमान खरिद गर्ने
निगमले आन्तरिक उडानमा राष्ट्रिय ध्वजावाहकको बलियो उपस्थिति जनाउन र यात्रुहरुलाई सस्तो मूल्यमा,सहज रुपमा भरपर्दो र सुरक्षित सेवा प्रदान गरी निजी क्षेत्रका वायुसेवाहरुको चर्को मूल्यलाई वास्तविकतामा आधारित मूल्यमा झार्न ट्रड।क रुटमा चल्ने तीन वटा विमान लिनका लागि अध्ययन सुरु गरिएको जनाएको छ । नवनियुक्त मन्त्री पाण्डेले पनि नेपालको आन्तरिक उड्डयन सेवा सुधारका लागि पनि राष्ट्रिय ध्वजाबाहकसंग पर्याप्त विमान हुनुपर्ने र आफूले निगमलाई सुधार गर्न चाहेको सार्वजनिक मञ्चहरुमा बताउदै आउनुभएको छ । निगमसंग देशका मुख्य र चल्तीका विमानस्थलमा चल्ने जहाजहरु भएमा निजी क्षेत्रका हवाई कम्पनीहरुको भाडा पनि घट्न सक्ने बताइन्छ ।
निगमले आफूले तयार पारेको विजनेस प्लानमा निगमलाई प्रतिस्पर्धी र भरपर्दो वायुसेवा कम्पनीको रुपमा रुपान्तरण गर्न आन्तरिकतर्फ ९ थान र अन्तर्राष्ट्रिय उडानतर्फ ६ थान विमान खरिद गर्ने समय तालिका बनाएको छ । निगमले आन्तरिकतर्फ स्टल विमानस्थलमा चल्ने तीनवटा दुई इन्जिन भएका जहाज र ट्रंक रुटमा चल्ने तीनवटा जहाज खरिद गर्न खोजिरहेको छ । त्यसमध्ये स्टल रुटमा चल्ने जहाजको लागि टेण्डरसमेत भई प्राप्त प्रस्तावहरुको मूल्यांकन भैरहेको छ । निगमले स्टल एअरपोर्टमा सेवा दिने जहाज खरिदका लागि २२ अक्टोबर २०२३ मा अन्तर्राष्ट्रिय बोलपत्र माग गरेको थियो । सो बोलपत्रमा सहभागी प्रस्तावकहरुको प्रस्ताव मूल्यांकन भईरहेको निगमले जानकारी दिएको छ ।
सस्तो ब्याजदरको कर्जाको खोजी
निगमले महंगो कर्जाले संस्थाको वित्तीय स्वास्थ्य बिग्रन गएको भन्दै सस्तो ब्याजदरको कर्जाको खोजी सुरु गरेको छ । अन्तर्राष्ट्रिय र राष्ट्रिय वित्तीय संस्थाहरुसंग माग गरिएको यस्तो प्रस्तावमा पर्याप्त प्रस्ताव नपरेपछि निगमले तेस्रो पटक प्रस्ताव माग गरेको हो । निगमले २३ जनवरी २०२४ मा यस्तो प्रस्ताव माग गरेको थियो । निगमले हाल लिइरहेको बार्षिक ११ प्रतिशतको हाराहारीको महंगो व्याजदरको कर्जाको तुलनामा निश्चित समयावधिसम्म हालको कर्जाको ब्याजदरभन्दा कम ब्याजमा कर्जा पाएमा उसले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋण पनि भुक्तानी गर्ने र अन्तर्राष्ट्रिय उडानमा थप जहाज भाडामा लिनुका साथै नयाँ जहाज खरिद प्रक्रिया बढाउने र आन्तरिक उडानमा स्टल र ट्रक रुटमा जहाज थप्ने योजना बनाएको छ ।
निगमले अन्तर्राष्ट्रिय उडानमा रहेका न्यारोबडीका दुई जहाज किन्दा कर्मचारी सञ्चय कोषसंग १० अर्ब र दुई वाइडबडीका जहाज किन्दा सञ्चय कोष र नागरिक लगानी कोषसंग १२ / १२ अर्ब कर्जा लिएको थियो ।
आधुनिक ह्यागर निर्माणको योजना
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको निगमको ह्यांगर पुरानो भएकोले नयाँ ह्यांगर निर्माण गरी आफ्ना सबै जहाजको मर्मतसंभार र नेपालमा चल्ने अन्य जहाजहरुको पनि मर्मत संभार सेवा दिन सक्ने गरी अन्तराष्ट्रिय स्तरको मर्मतसंभार केन्द्रको स्थापना गर्न निगमले मन्त्रालयसमक्ष प्रस्ताव पेश गरेको छ । उसले यसका लागि डीपीआर(विस्तृत परियोजना प्रतिवेदन) समेत तयार भैसकेको जनाएको छ। सुविधा सम्पन्न ह्यांगर निर्माण भएमा निगमका ह्यांगरमा नेपालमा हवाई सेवा सञ्चालन गरेका कम्पनीहरुका जहाजहरुको मर्मत र संभारबाट पनि निगमले अतिरिक्त आम्दानी गर्न सक्छ ।
टिकट बिक्रीमा एसपीएबाट कोड सेयरिड तर्फ
निगमले आफूले नियमित सेवा दिइरहेका विदेशी गन्तव्यमा यात्रुहरुलाई भरपर्दो सेवा दिन र निगमको उडान सेवा नपुगेका तर नेपालबाट त्यस्ता गन्तव्यमा जाने र निगमको सेवा नभएका गन्तव्यबाट नेपाल आउन चाहने यात्रुहरुलाई सुविधा दिन अन्य प्रतिष्ठित हवाई सेवासंग कोड सेयरिड।संझौता गर्न लागेको जनाएको छ । कोड सेयरिड। भएमा निगमका उडान प्राविधिक वा अन्य कारणले रोकिन गएमा वा निगमको जहाजको निर्धारित उडान समय बिलम्ब हुन गएमा निगमका जहाजमा यात्रा गर्ने गरि टिकट काटेका यात्रुहरुलाई कोड सेयरिड। गरी अन्य वायुसेवाका विमानमार्फत गन्तव्यमा पठाउन सकिन्छ । त्यस्तो कोड सेयरिड। भएका अन्य हवाई सेवाले पनि निगमको जहाजमा आफ्ना यात्रुहरु पठाउन सक्नेछन् । यसले नेपाल आउने र नेपालबाट बारिरिने हवाई यात्रुहरुलाई भरपर्दो र विश्वसनीय सेवा दिने अवस्था सिर्जना गर्नेछ । उडान रद्द भएर यात्रुहरुलाई होटलमा राख्ने खर्च सबै वायुसेवाको जोगिने छ ।
निगमले यस सम्बन्धमा एअर इण्डिया, श्रीलंकन एअर र टर्किस एअरसंग प्रारम्भिक चरणका छलफल भएको पनि जनाएको छ । निगमले हाल भने प्रतिष्ठित हवाई सेवा कम्पनीहरुसंग स्पेशल प्रोरेट एग्रिमेन्ट अन्तरगत टाई फेयरको सहकार्यबाट अन्तरमहादेशीय टिकट बिक्री गर्दै आएको जनाएको छ । यसरी टिकट बिक्री गर्दा निगमले निश्चित प्रतिशत कमिशन लिन पाउछ र अतिरिक्त आम्दानी हुन गएको छ । निगमले २४ वटा वायुसेवा कम्पनीसंग एसपीए प्यासेन्जर र २३ वटासंग एसपीए कार्गो संझौता गरेको जनाएको छ ।
सिनामंगल र न्यूरोडमा नयाँ भवन निर्माण
निगमको वर्तमान व्यवस्थापनले सिनामंगलमा रहेको ३४ रोपनी १३ आना २ पैसा जग्गामा बुटसिस्टममा व्यवसायिक भवन निर्माण गरी केन्द्रीय कार्यालय सार्ने र न्यूरोडमा हाल केन्द्रीय कार्यालय रहेको स्थानमा अत्याधुनिक सुविधायुक्त बहुआयामिक भवन निर्माण गरी अतिरिक्त आय आर्जन गर्ने योजना पनि सञ्चालका समितिबाट पारित गरी संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लगानी बोर्डमा यसको समन्वयको लागि पत्राचार गरिरहेको छ । निगमले सिनामंगलमा बन्ने भवनमा सेल्फ क्यारिड। सेवा सञ्चालन गर्ने र अन्य वायुसेवा कम्पनीलाई पनि त्यस्तो सेवा उपलब्ध गराउने योजना पनि सारेको छ । निगमले राजधानी बाहेक पोखरा, विराटनगर, नेपालगञ्ज र अन्य मुख्य शहर तथा जिल्ला सदरमुकाममा रहेका आफ्नो जग्गा संरक्षण गर्ने र भाडामा लगाएर अतिरिक्त आम्दानी पनि गर्दै आएको जनाएको छ ।
पुराना जहाज र इञ्जिनको व्यवस्थापन
निगमले २०७१ वैशाख १ मा नेपाल भित्रिएको एम ए ६० र सोही बर्ष कार्तिक १८ मा नेपाल आइपुगेका वाई १२ सेििरजका चाइनिज जहाजहरुको सञ्चालनमा देखिएका प्राविधिक र वित्तीय समस्याका बारेमा मन्त्रालयमा यथासमय जानकारी गराएको उल्लेख गर्दै अहिले एअरपोर्टमा थन्किएका ती जहाजहरु भाडामा दिन र बिक्रीका लागि गरिएका प्रयासहरु सफल हुन नसकेको उल्लेख गरको छ ।
निगमले ती जहाजहरु २०७७ असार १६ गतेको तात्कालीन सञ्चालक समितिको निर्णय, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालय समेतको निर्णयका आधारमा ग्राउण्डेड गरिएको उल्लेख गर्दै सकभर लिजमा दिने र त्यसो हुन नसकेमा बिक्री गर्ने निर्णयलाई कार्यान्वयन गर्दा लिजमा लिन पनि किनेर लैजान पनि कोही नआएको उल्लेख गरेको छ । निगमले लिजको लागि दुई पटक टेण्डर गरेको थियो, लिन कोही आएन । बिक्रीको लागि पनि टेण्डर गरेको थियो, त्यसमा पनि कोही आएनन् । अब के गर्ने भन्नेमा सञ्चालक समितिले थप निर्णय गरेको छैन ।
निगमले आफूले फेज आउट गरेका बोइड। बिक्रीका लागि गरेको प्रयास सफल हुन नसकेकोले पुनः त्यसको मूल्य निर्धारणको लागि स्वीस एरो कन्सल्टेण्टसंग संझौता गरिएको जानकारी मन्त्रालयलाई गराएको छ । त्यस्तै स्पेनको आइबेरियामा रहेको बोइड। ७५७ को एउटा इञ्जिन एभिएसन एसेट म्यानेजमेण्टले मूल्यांकन गरी प्रतिवेदन निगमलाई दिइसकेको छ । निगम व्यवस्थापनले सो मूल्यांकन सञ्चालक समितिसमक्ष पुर्याएको बताएको छ।