काठमाडौं, ६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना पार्टी कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर जारी गरेको छ । मोबाइलमा सन्देशमार्फत तुरुन्त पार्टी कार्यालयमा आउन आग्रह गरिएको कार्यकर्ताकाे भनाइ छ ।
सर्कुलरसँगै पार्टी मुख्यालयमा भिडभाड बढ्न थालेको छ । ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा भित्र्याएका रवि लामिछानेसहितलाई कारबाहीको सिफारिस गरेको थियाे ।
सहकारी बचत अपचलन प्रकरणमा गोर्खा मिडिया ग्रुपका सञ्चालक समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने लाइ प्रहरीले निगरानीमा राखेकाे छ ।
रविलाई आजै पक्राउ गर्नेगरी कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी लिन प्रहरी खटाइएको थियो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उहाँलाई सम्भावित पक्राउबारे सूचित गरिएको छ । लामिछाने भने पार्टीका नेताहरुसँग आन्तरिक छलफलमा छन् ।