धरहरा चढ्दा शुल्क लाग्ने

२०८१ मंसिर ९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ९ मंसिर । आइतबारबाट भने धरहरा चढ्दा शुल्क लाग्ने भएको छ । धरहरा चढ्दा प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तिर्नुपर्ने छ । विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिले भने उक्त रकममा ५० प्रतिशत छुट पाउनेछन् । उहाँहरूले एक सय रुपैयाँ तिरे पुग्नेछ ।

सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको सहरी विकास मन्त्रालयले जनाएको छ । अहिलेसम्म अन्तरिम व्यवस्थाअनुसार धरहरा खुला गरिएको भए पनि अब शुल्क निर्धारण गरेर चलाउन लागिएको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) आयोजनाका निर्देशक प्रकाश अर्यालले बताउनुभयाे ।

‘शुल्क लागू भएको दिन व्यवस्थापन गर्न समय लाग्ने हुँदा धरहरा चढ्न आउनेहरूका लागि केही ढिलाइ हुन सक्छ,’ अर्यालले भन्नुभयाे, ‘अहिलेसम्म बिहान १० देखि दिउँसो ४ बजेसम्म चलायौं, अब समय पनि हेरफेर गर्न सकिन्छ ।’ यसका लागि केही समय लाग्ने उहाँले सुनाउनुभयाे । धरहरा परिसर प्रवेश गर्दा पनि ५० रुपैयाँ शुल्क लाग्नेछ । धरहरा परिसरमा व्यावसायिक भिडियो छायांकन शुल्क प्रतिघण्टा ५ हजार र व्यावसायिक फोटोग्राफी छायांकन शुल्क प्रतिघण्टा १ हजार रुपैयाँ तोकिएको मन्त्रालयले जनाएको छ ।

धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका व्यावसायिक बाहेकको विज्ञापन शुल्क प्रतिघण्टा ५ हजार रुपैयाँ पर्नेछ । प्रत्येक बुधबार एक दिन भने धरहरा चढ्न बन्द गरिनेछ ।

गत असोज ३ देखि शनिबारसम्म ९० हजारभन्दा बढीले निःशुल्क धरहरा चढे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार