काठमाडौं , १७ मङ्सिर। प्रधानमन्त्री केपी शर्मा ओली चारदिने औपचारिक भ्रमणका क्रममा सोमबार चीन जाँदैछन्। गठबन्धनका दलबीच बीआरआई कार्यान्वयनमा ‘मध्यमार्गी बाटो’ अपनाएर ओली चीन जान लागेका हुन्। बीआरआई कार्यान्वयनको सम्झौताका विषयलाई लिएर कांग्रेस र एमालेबीच लामै छलफल चलेको थियो। बीआरआई कार्यान्वयनका सम्बन्धमा नेपाल–चीनबीच हुने प्रस्तावित समझदारीका सम्बन्धमा कांग्रेसले प्रस्ताव गरेकै नाममा अन्ततः सहमत जुटेको हो।
चिनियाँ राजदूतावासमा शनिबार बुझाइएको यससम्बन्धी डकुमेन्टमा नयाँ सम्झौताको नाम कांग्रेसले प्रस्ताव गरेअनुसार नै ‘बीआरआई सहकार्य फ्रेमवर्क’ राखिएको छ।
प्रधानमन्त्री ओलीले मंगलबारै चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। उनले चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्त गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओलीले बुधबार पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै, उनले नेपाल–चीन बिजनेस फोरमले आयोजना गर्ने कार्यक्रममा सम्बोधन गर्नेछन्। बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुनेछन्। भ्रमणको चौथो दिन बिहीबार नेपाल फर्किने कार्यक्रम छ।