काठमाडौं,१७ मङ्सिर। कर्णाली याक्सलाई आठ विकेटले हराउँदै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार दोस्रो खेल जितेकाे छ ।
त्रिवि खेल मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४१ रन बनायो । यो रन नै प्रतियोगिताको ठुलो स्कोर थियो । यसलाई पनि जनकपुरले तोडेको छ । प्रत्युत्तरमा जनकपुरले १५।१ ओभरमा दुई विकेट गुमाउँदै लगातार दोस्रो जित निकाल्यो । जनकपुरले उद्घाटन खेलमा विराटनगर बोल्ट्सलाई पनि आठ विकेटले हराएको थियो ।
पहिलो विकेटका लागि कप्तान अनिलकुमार शाह र मार्की आसिफ शेखले ८४ रनको साझेदारी गरेपछि जनकपुर सहज जिततर्फ बढेको थियो । कप्तान अनिलले ४१ बलमा ६ चौका र तीन छक्कासहित सर्वाधिक ६१ रन बनाए । ओपनर आसिफले २९ बलमा समान दुई चौका र छक्कासहित ३६ रन र तेस्रो नम्बर क्रिजमा आएका लाहिरु मिलान्थाले १३ बलमा २४ रनको योगदान गरेका थिए । पहिलोपटक मैदान उत्रिएका जिमी निसमले आठ बलमा १६ रन बनाएका हुन् । कर्णाली याक्सका लागि जिसन मक्सुद र मौसम ढकालले समान एक विकेट हात पारेका थिए ।
यसअघि छैटौँ विकेटका लागि कप्तान सोमपाल कामी र ‘ट्यालेन्ट हन्ट’बाट आएका अर्जुन घर्तीले ५६ रनको साझेदारी गरेपछि कर्णाली प्रतियोगिताकै सर्वाधिक धेरै रन बनाउने टिम बनेको थियो । अर्जुनले रन आउट हुँदा २२ बलमा समान दुई चौका र छक्कासहित ३३ रन बनाए । १९औँ ओभरमा हर्ष थाकरलाई अर्जुन घर्तीले २१ रन हान्दै कर्णाली याक्सलाई मध्यम योगफलतर्फ बढाएका हुन् । सोमपालले १२ बलमा तीन चौका र एक छक्कासहित २९ रन बनाएका हुन् ।
गुल्सन झाले १३ बलमा अविजित २९ रन बनाएका हुन् । १५।२ ओभरमा गुल्सन आउट हुँदा कर्णाली याक्सले ६ विकेट गुमाउँदै ७९ रन बनाएको थियो । १० हजारमाथि समर्थक टियू मैदानमा उपस्थित हुँदा कर्णालीका चर्चित खेलाडीहरू शिखर धवन, चाडविक वाल्टन, बाबर हायत र जिसन मक्सुद चल्नै सकेनन् । गुल्सन झाले टोलीलाई केही समय सम्हाले । त्यसपछि क्रिजमा आएका कप्तान सोमपाल र अर्जुनले सानदार इनिङ्स खेलेका हुन् ।
यसअघि पहिलोपटक नेपालमा खेल्न आएका भारतीय चर्चित खेलाडी तथा ओपनर शिखर धवन १४ बलमा तीन चौकासहित १४ रन बनाएर पेभिलियन फर्किएका थिए । पाँच बलको सामना गरेका ओपनर देव खनाल पनि एक रन बनाएर आउट भएपछि कर्णाली दबाबमा आएको थियो ।
वेस्ट इन्डिजका चाडविक वाल्टनले पनि १३ बलमा जम्मा आठ रन बनाए । हङकङका अनुभवी खेलाडी बाबर हायत पनि २५ बलमा १२ रन बनाएपछि कर्णालीले सोचेजस्तो स्कोर खडका गर्न सकेन । ओमान पूर्वकप्तान जिसन मक्सुद भने डकआउट भए ।
जनकपुरका मोहम्मद वाहसिनले सर्वाधिक दुई विकेट हात पारे । किशोर महतो, ललित राजवंशी, हर्ष थाकर, जिमी निसमले समान एक विकेट हात पारे । आज नै भएको पहिलो खेलमा काठमाडौं गुर्खाजलाई पाँच विकेटले हराउँदै चितवन राइनोजले विजयी सुरुवात गरेको छ । मंगलबार पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किंग्स तथा दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्नेछन् ।