काठमाडौँ, ७ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र बनाउने बताउनुभएकाे छ ।
आज काठमाडौँमा नेपाली कांग्रेस १०० दिने विशेष अभियान अन्तर्गत काठमाडौँ महानगरपालिका वडा नम्बर ३० को दोस्रो वडा सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सरकारमा सहभागी दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम सुरु गर्ने बताउनुभयाे ।
सबै राजनीतिक दलहरूसँग छलफल गरेर संविधान संशोधन गर्नुपर्ने न्यूनतम कुराहरूको संशोधन हुने बताउँदै उहाँले संयन्त्रले सुरुमा काँग्रेस र एमालेबिच समझदारी बनाउने र पछि अन्य राजनीतिक दलहरूसँग छलफल गरेर मात्रै सबैको सहमतिअनुसार संविधान संशोधन हुने उल्लेख गर्नुभयाे।