स्याङ्जा गल्याङ्ग नगरपालिका रुपन्देही सम्पर्क समाज वृद्धहरुको सेवामा

२०८१ पुष २७, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का

स्याङ्जा,२७ पुस । “स्याङ्जाको सान गल्याङ हाम्रो पहिचान” भन्ने भाव सहित स्याङ्जा गल्याङ्ग नगरपालिका रुपन्देही सम्पर्क समाजले गल्याङ्गमा अवस्थित श्री शिव पार्वती वृद्ध आश्रम तथा बहु उद्धेश्यिय संस्था राम नदी धाममा वृद्धवृद्धाहरुलाई न्यानो ओड्ने कपडा वितरण गरेको छ ।

गल्याङ्ग नगर प्रमुख गुरु प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम शनिबार सम्पन्न गरिएको हो । कार्यक्रममा बोल्दै उहाँले आफ्नो जन्म स्थान सम्झेर वृद्धको सेवामा अघि बढेकाेमा खुसी व्यक्त गर्नुभयाे । नगरपालिका पनि समाजमा हुने समस्या समाधान गर्न सहकार्य गर्न तयार रहेकाे समेत बताउनुभयाे ।

स्याङ्जा गल्याङ्ग नगरपालिका रुपन्देही सम्पर्क समाजका अध्यक्ष जनक श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव पिताम्बर अर्यालले गर्नुभएको थियो । कार्यक्रममा गल्याङ्ग नगरपालिका वडा नंवर १ का वडा अध्यक्ष मणि प्रसाद बस्याल, वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई लगायतकाे सहभागिता रहेको थियो ।

कार्यक्रममा श्री शिव पार्वती वृद्ध आश्रम तथा बहुउद्देश्यीय संस्था राम नदी धाममा बस्ने २२ जना वृद्धवृद्धालाई जाडोमा ओड्ने न्यानो कम्बल वितरण सहित एक छाक भोजनको व्यवस्था गरिएको थियो । त्यसै गरी गुरुकुलमा रहने १०४ जनालाई पनि एक छाक भोजनको व्यवस्था गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष सुनिल खड्काले राख्नु भएको थियो भने संस्थाका अध्यक्ष जनक श्रेष्ठले कार्यक्रम गर्न पाउँदा खुसी व्यक्त गर्दै आउँदो दिनमा गल्याङका एघार वटै वडामा जोडिने गरी आफूहरु अघि बढ्ने जानकारी गराउनुभएको थियो । संस्थाले रुपन्देहीमा पनि सहयोग कार्यक्रम गरेको तर यसपालि गल्याङमा गरिएको जानकारी उहाँले गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार