काठमाडौँ , २८ माघ। राष्ट्रपति रामचन्द्र पौडेलले कसैको दवाव वा प्रभावमा नपरी कार्यसम्पादन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुझाव दिनुभएको छ ।
आयोगको ३४ औं स्थापना दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले कसुर र कसुरदार ठूलो वा सानो नभनी काम र कसैको दवाव वा प्रभावमा नपरी कार्यसम्पादन गर्न सुझाव दिनुभएको हो ।
उहाले भ्रष्टाचारको प्रकृति र स्वरुपमा परिवर्तन भइरहेको अवस्थामा अनुसन्धान र अभियोजन प्रक्रियालाई पनि आधुनिकीकरण गर्दै जानुपर्ने बताउनुभयो । उहाँले सूचनाप्रविधिको तिव्र विकास र प्रयोगसँगै भ्रष्टाचारका तरिका र प्रवृत्तिमासमेत जटिलता थपिएको बताउनुभयो । राष्ट्रपति पौडेलले भ्रष्टाचारसम्बन्धी विधेयकहरू लामो समयसम्म किनारा नलाग्दा पनि केही समस्या आएको गुनासो आइरहेको भन्दै यसमा ध्यान दिन सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्तरुप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानविनको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति पौडेलले सरकारी ढुकुटी र बजेट कार्यक्रमको दुरुपयोगसम्बन्धी विचलनलाई समयमै नियन्त्रण गर्न राज्य संयन्त्र हरदम चनाखो रहनुपर्ने बताउनुभयो ।
त्यस्तै अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राइले सार्वजनिक स्रोत र राज्य शक्तिको प्रयोग गर्ने पदाधिकारीमा सदाचार संस्कृतिको बिकास गर्न सचेतना, प्रचार प्रसार र सहकार्यको रणनीति अवलम्वन गरिएको बताउनुभयो । उहाले आयोजना निर्माण ढिलाई हुँदा राज्यले ठूलो नोक्सानी व्यहोर्नुपरेको भन्दै खरिद योजनालाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्नुभयो ।
राष्ट्रपति पौडेलले अख्तियारका उत्कृष्ट कर्मचारीका साथै सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कार बितरण गर्नुभएको थियो । कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री , उपसभामुख लगायतका व्यक्तिहरुको समेत उपस्थीति रहेको थियो ।