गल्याङमा विपद व्यवस्थापन सम्बन्धि तालिमको सुरुवात : विद्यार्थीलाई सशक्त बनाउने लक्ष्य

२०८१ फाल्गुन १, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल 
स्याङ्जा, १ फागुन । स्याङ्जाको गल्याङ नगरपालिकामा विपद व्यवस्थापन सम्बन्धी दुई दिने आधारभूत तालिम सुरु भएको छ ।

विद्यार्थीहरूलाई विपदको समयमा आवश्यक सावधानी र पूर्व तयारी बारे जानकारी गराउने उद्देश्यले नेपाली सेनाको सिंह शार्दुल गुल्म आँधिखोला व्यारेकले उक्त कार्यक्रम आयोजना गरेको हो ।

गल्याङ नगरपालिका वडा नं.३ स्थित श्री भानुभक्त आचार्य माध्यमिक विद्यालयमा विहीबारदेखि उक्त तालीम सुरु भएको छ । उक्त तालिममा विद्यालयका कक्षा ९ देखि १२ सम्मका २८८ जना विद्यार्थीको सहभागिता रहेको छ ।

तालिमको उद्घाटन समारोहमा बोल्दै गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने तिमिल्सीनाले विपद व्यवस्थापन सम्बन्धी यस्ता तालिमहरू अत्यन्तै उपयोगी हुने बताउँदै विद्यार्थीहरूलाई सशक्त बनाएर समुदायमा सुरक्षित वातावरण बनाउन सकिने धारणा व्यक्त गर्नुभयो । विद्यार्थीहरूलाई मात्र नभई उनीहरूका परिवार र समुदायलाई समेत विपदबाट सुरक्षित राख्न यस्ता तालिम आवश्यक हुने बताउनुभयो । त्यसैगरी उहाँले अन्य विद्यालय र समुदायस्तरमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

तालिमका प्रमुख प्रशिक्षक सिंह शार्दुल गुल्म आँधिखोला व्यारेकका सहसेनानी कल्याण थापाले नेपाली सेनाले विपद व्यवस्थापनलाई अभियानकै रूपमा अघि बढाइरहेको जानकारी दिनुभयो ।

यसअघि कालीगण्डकी गाउँपालिकाका दुई विद्यालयमा यस्तै तालिम सम्पन्न भइसकेको पनि बताउनुभयो । त्यसैगरी अर्को तालिम आगामी आइतबार र सोमबार गल्याङ नगरपालिका वडा नं. १ स्थित श्री सार्वजनिक नमूना मा।वि। मा संचालन हुने बताउनुभयो ।

तालिममा ११ जना दक्ष प्रशिक्षकले विपदको समयमा घर तथा वरपरका जोखिम न्यूनीकरणका उपायहरूबारे प्रशिक्षण दिएका थिए ।

त्यसैगरी उक्त कार्यक्रमको उद्घाटन समारोहमा विद्यालयका प्र.अ. नीम पौडेलले उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य राख्नुभएको थियो भने गल्याङ नगरपालिका शिक्षा शाखा प्रमुख हिमाल भण्डारीले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय