काठमाडौ, ९ फागुन । करारमा राखिएका कर्मचारी मेयरका झोले भएको भन्दै ८० भन्दा बढी कर्मचारीलाई प्रशासकीय अधिकृत इन्जिनियर दिपेन्द्र कुमार शाहले निष्कासन गरेपछि धनुषा जिल्लाको विदेह नगरपालिकाको विवाद अदालतसम्म पुगेको छ ।
करारका कर्मचारी निष्कासन पछि नगर प्रमुख वेचन दासले कार्यालय जान अबरोध गरेको भन्दै प्रशासकीय अधिकृत शाह उच्च अदालत जनकपुरमा रिट निवेदन लिएर जानू भएको थियो । रिट निवेदन सुनुवाइ गर्दै अदालतले अर्को आदेश नभएसम्मको लागि शाहलाई पालिकामा काम गर्न दिनु भनी अंतरिम आदेश जारी गरेको छ ।
अदालतको आदेशमा भनिएको छ : प्रस्तुत निवेदन पत्र सहितको मिसिल अध्ययन गरी निवेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री दीपेन्द्र कुमार साहले गर्नु भएको बहस समेत सुनियो।
यसमा, के कसो भएको हो ? निवेदन माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने आधार र कारण भए सो समेत खुलाई बाटाका म्याद बाहेक १५ (पन्ध्र) दिनभित्र विपक्षीहरु नं ३ देखि ६ सम्मको हकमा उच्च सरकारी वकिल कार्यालय, जनकपुर मार्फत अन्यको हकमा आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्नु भनी यो आदेश र निवेदनपत्रको प्रतिलिपि साथै राखी विपक्षीहरुको नाउँमा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेश गर्नु।
साथै, यसमा अन्तरिम आदेश समेतको माग रहेकोमा सो सम्बन्धमा दुवै पक्षविच छलफल गराई निस्कर्षमा पुग्न मनासिव हुने देखिदा सो प्रयोजनको लागि मिति २०८१।११।१३ को पेशी तोकी सोको सूचना समेत विपक्षीलाई दिई नियम अनुसार पेश गर्नू ।
सो अन्तरिम आदेशको छलफल भई अर्को आदेश नभएसम्म निवेदकलाई विदेह नगरपालिकाको अफिसमा पदीय दायित्व अनुसार कामकाज गर्न कुनै पनि किसिमको अवरोध पुऱ्याउने कार्य नगर्नु नगराउनु भनी विपक्षीहरूका नाउँमा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ (२) बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरिदिएको छ ।
करार कर्मचारी निष्कासन पछि नगरप्रमुख र निष्कासित कर्मचारी बाट असुरक्षाको महसुस गरेर जिल्ला प्रशासन समक्ष न्याय माग्न पुगेको उहाँले हेर्नेकुरा डटकमलाई बताउनुभयो । उहाँले भन्नुभयो “प्रशासनले सुरक्षा दिनुको साटो उल्टै तनाव दियो अनि न्याय माग्दै उच्च अदालत जनकपुर पुगे ।” राम्रो काम गर्ने कर्मचारीलाई यो देशमा गर्हो बनाउने गरेकाे बताउने उहाँले मेयरका झोलेलाई मात्रै निष्कासन गरेको पटकपटक दाबी गर्नुभयो । उहाँले भन्नुभयो ” कार्यालयको कुनै काम गर्न नजान्नेलाई मात्र निष्कासन गरेको हु । काम गर्न जान्ने केही करारका कर्मचारी अझै कार्यरत हुनुहुन्छ ।” दुई महिना प्रशासकीय अधिकृतको रूपमा काम हेरेर कामको कुनै रिजल्ट नआएपछि निष्कासन गरेको उहाँको भनाइ छ । प्रशासकीय अधिकृतको रुपमा काम गर्न लागेको दुई महिना दुई दिनमा करारका कर्मचारी निष्कासन गरेको उहाँले बताउनुभयाे । उहाँले भन्नुभयो “म त्यहाँ पुगेपछि दुई महिना दुई दिन उहाँहरुको काम हेरे मेयरको भजन गाउने भन्दा अन्य काम नदेखेपछी राज्यको भार घटाउन निष्कासन गरेको हु ।”
उता नगरप्रमुख वेचन दासले भने सरुवा भैइसकेका प्रशासकीय अधिकृतले आवेगमा आएर कोठामै बसेर यस्तो निर्णय गरेको बताउनु भएको छ । उहाँले हेर्नेकुरा डटकमसंग कुराकानी गर्दै भन्नुभयो “उहाँको खानेपानी मन्त्रालयमा सरुवा भैइसकेको छ । सरुवा भएको रिसको झोकमा घरमै बसेर यस्तो निर्णय गर्नुभएको हो ।”
नगरप्रमुखले घरमै बसेर करारका कर्मचारी निष्कासन गरेको आरोप लगाएपनी उच्च अदालतको आदेश अनुसार शाह आइतबार कार्यालय जाने बताउनु भएको छ ।