काठमाडौँ ,२४ फागुन । नेपाल शिक्षक महासंघले शनिबार काठमाडौंमा प्रर्दशन गरेको छ । माइतीघरदेखि ठूलो संख्यामा शिक्षकहरू बानेश्वर पुग्नुभएकाे हाे । अहिले बानेश्वरमै सभा जारी छ । शीघ्र विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले प्रदर्शन गरिएको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताउनुभयाे । विगतमा सरकारसँग भएका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐन जारी गर्न राज्यलाई दबाब दिन प्रदर्शन गर्न बाध्य भएको उहाँको भनाइ छ ।
यसअघि नै महासंघले आन्दोलनको घोषणा गरेको थियो । महासंघले आन्दोलनको पहिलो चरणमा पालिका, जिल्ला र प्रदेश तहमा ध्यानाकर्षणपत्र बुझाउँदै विरोधसभा गरेको थियो । काठमाडौंको प्रदर्शनपछि राजनीतिक दलका पार्टी कार्यालयमा दबाबपूर्ण धर्ना दिने महासंघले जनाएको छ ।