युवराज पौडेल
स्याङ्जा ,२७ फागुन । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं ११ जैसीडाँडास्थित सिद्धार्थ हाइवे कटेजमा इभि चार्जिङ स्टेसन स्थापना गरिएको छ । उक्त चार्जिङ स्टेसनको प्रतिनिधि सभाका सांसद राजु थापाले आइतबार उद्घाटन गर्नुभएको छ ।
इलोक्ट्रोनिक सवारीका साधनहरुको चाप स्याङ्जामा बढिरहेका बेलामा सवारी चालकहरुको समस्यालाई ध्यानमा राखेर उक्त चार्जिङ स्टेसनको सुरुवात भएको छ । इलोक्ट्रोनिक साधनहरु बढ्ने तर बिचबाटोमा चार्ज गर्ने ठाउँ नहुँदा चालकहरुले दुःख पाइरहेका थिए ।
चार्जिङ स्टेसनको उद्घाटन गर्दै प्रतिनिधि सभाका सांसद राजु थापाले जलस्रोतको अपार सम्भावना भएको नेपालमा वातावरणीय दृष्टिकोणले समेत उपयुक्त इलोक्ट्रोनिक सवारीका साधनको प्रयोग बढाउनुपर्ने र त्यसका लागि चार्जिङ स्टेसनहरु पनि पर्याप्त हुनुपर्ने बताउनुभयो । उहाँले स्याङ्जामा चार्जिङ स्टेसनको समस्या भइरहेका बेलामा राजमार्गमा यसप्रकारको स्टेसनको सुरुवात हुनु सुखद रहेको बताउनुभयो ।
कार्यक्रममा स्याङ्जा गण्डकी यातायात प्रालिका सभापति भानुभक्त बराल, उद्योग वाणिज्य सङ्घ स्याङ्जाका अध्यक्ष दीपक लम्साल, पुतलीबजार नगरपालिकाका प्रवक्ता मनोज पौडेललगायतको उपस्थिति रहेको थियो ।
जिभा इन्टरनेशनल प्रालि र दिनेश अर्यालको करिब ४० लाखको संयुक्त लगानीमा खोलिएको उक्त चार्जिङ स्टेसनमा एकै पटक चार वटा सवारीका साधन चार्ज गर्न मिल्ने लगानीकर्ता दिनेश अर्यालले बताउनुभयो ।