काठमाडौ,४ चैत । नेपाल प्रहरीले नयाँ महानिरिक्षक (आइजिपी) पाइएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बन्नुभएकाे छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले एआइजी थापालाई आइजिपीमा बढुवा गरेको हो ।
थापाले अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै मुलुकको प्रहरी संगठनको नेतृत्व लिन सफल हुनुभएकाे छ । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले थापालाई प्रहरीको महानिरीक्षक नियुक्त गरेको हो । महानिरीक्षक वसन्त बहादुर कुँवर सेवा अवधि पुरा गरी अनिवार्य अवकासमा गएपछि सोमबारदेखि प्रहरी महानिरीक्षक पद रिक्त भएको छ ।
एआईजीमध्ये जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा थापालाई आईजी बनाइएको हो । थापासँगै एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङ पनि महानिरीक्षकको प्रतिस्पर्धामा हुनुहुन्थ्याे ।आईजीमध्ये थापा वरिष्ठ हुनुहुन्छ ।
उहाँ अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख हुनुहुन्छ। पुरानो प्रहरी ऐन कायम रहेमा थापाको कार्यकाल ६ महिनाको हुने बताइएको छ ।