स्याङ्जामा मुस्लिम समुदायका महिलाहरूका लागि ‘लाछाको डोरी’ बनाउने तालिम

२०८१ चैत्र ६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल 
स्याङ्जा ६ चैत । स्याङ्जाका मुस्लिम समुदायका महिलाहरूका लागि लाछाको डोरी बनाउने सिपमूलक तालिम सुरू भएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा पुतलीबजार नगरपालिका र बाडखोला मुस्लिम समाजको समन्वयमा नुरी इस्लामिक मदरसा स्कुलको प्राङ्गणमा तालिम सञ्चालन गरिएको हो ।

जिल्लाका मुस्लिम समुदायका महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउनका लागि आयोजना गरिएको १० दिने तालिमको उद्घाटन पुतलीबजार नगरपालिका उपप्रमुख देवी अर्यालले गर्नुभएको थियो । उहाँले लक्षित समुदायका महिलाहरूका लागि यस्ता कार्यक्रमले उनीहरूको आर्थिक सशक्तीकरण र व्यवसायिकता वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले मुस्लिम समुदायमा परम्परागत रूपमा चलिआएको सीपलाई आधुनिक ढंगबाट व्यवसायिक रूपमा विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले सिकेको सीपलाई जीवन उपयोगीको बनाउन आग्रह गर्दै, आफ्नो कार्यालयले आर्थिक सशक्तीकरणका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तालिमको अध्यक्षता बाडखोला मुस्लिम समाजका वरिष्ठ उपाध्यक्ष शाह खालिद मियाले गर्नुभएको थियो । उहाँले टोलस्तरमै आएर मुस्लिम महिलाहरूको सीप विकास र सशक्तीकरणका लागि गरिएको यो प्रयास अनुकरणीय रहेको बताउनुभयो ।

कार्यक्रममा पुतलीबजार नगरपालिका वडा नं। १४ का वडा सदस्य मुबारक मिया, वडा सदस्य सोमबहादुर नेपाली, हाजी अमिर बक्स मियाँ, बाडखोला मुस्लिम समाजका पूर्व अध्यक्ष हाजी सेर अली मियाँ लगायतका व्यक्तिहरूले आफ्नो धारणा राख्नुभएको थियो ।

उक्त कार्यक्रमको सञ्चालन बाडखोला मुस्लिम समाजका सचिव अलि महोम्मदले गर्नुभएको थियो भने सहसचिव अमिर आलमले कार्यक्रम संयोजन गर्नुभएको थियो । यो तालिमले स्थानीय सीपलाई व्यवसायिक ढाँचामा रुपान्तरण गर्दै मुस्लिम समुदायका महिलाहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय