काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गर्नुभएको छ ।
शुक्रबार काठमाडौंमा जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन आग्रह गर्नुभएको हो । उहाँले कर्मवीरले असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिने उल्लेख गर्दै यस क्षेत्रमा स्वदेशी वस्तुको उत्पादनमा प्रोत्साहनका लागि सरकार तत्पर रहेकोे बताउनुभयो । उहाले उद्योग व्यवसायको अवस्था निकै राम्रो नभएपनि राम्रो तर्फ उन्मुख रहेको धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले बिभिन्न उत्पादनमा आयात कम गरेर स्वदेशमा नै आत्मनिर्भर हुने र निर्यात समेत गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत स्थायीत्व भए सहज रुपमा उद्योगहरु सञ्चालन हुनसक्ने बताउनुभयो । उहाले सिमेन्टको बिषयमा र लोडसेडिङका बिषयमा सरकारले उचित सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाले धेरै राम्रा कानूनहरु निर्माण भएको भन्दै यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल उद्योग तथा व्यवसायी महासङ्घको महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।