स्याङ्जामा अपांगता सवालमा अन्तरक्रिया तथा सन्देशमूलक सामग्री सार्वजनिक

२०८१ चैत्र १४, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल

स्याङ्जा १४ चैत । सामाजिक विकास कार्यालय स्याङ्जाको सहयोग र स्याङ्जा अपांग समाजको आयोजनामा अपांगता सवालमा सरोकारवाला एवं यातायात व्यवसायीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अपांगता भएका व्यक्तिहरूलाई यातायात क्षेत्रमा लागु हुने सहुलियतका विषयमा छलफल गर्दै सन्देशमूलक सामग्रीहरू सार्वजनिक गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले अपांगता भएका व्यक्तिहरूलाई कानूनले प्रदान गरेको सहुलियत कार्यान्वयनका लागि सबै सरोकारवालाको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । त्यस्तै उहाँले प्रशासन तथा सुरक्षा निकाय यो कार्यमा जुनसुकै बेला सहजिकरण गर्न तयार रहेको बताउनुभयो ।

त्यस्तै प्रहरी उपरीक्षक शालिकराम पौडेलले कानून कार्यान्वयनका लागि सुरक्षा निकायले अनुगमनसँगै सरोकारवालासँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अपांगता भएका व्यक्तिहरूलाई यातायात छुट, बाटो काट्न सहयोग र अन्य आवश्यक सुविधा उपलब्ध गराउन सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा पृथ्वी राजमार्ग यातायात व्यवसायी प्रालि, पश्चिम नेपाल यातायात व्यवसायी प्रालि, स्याङ्जा गण्डकी यातायात व्यवसायी प्रालि, सिद्धबाबा यातायात व्यवसायी प्रालि सहित विभिन्न यातायात समितिका प्रतिनिधिहरू, अपांगता सम्बन्धी संघसंस्था तथा अन्य सरोकारवालाहरूको उल्लेख सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा अपांगता विज्ञ एवं अपांगता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष युवराज पराजुलीले अपांगताको अवधारणा, परिभाषा, वर्गीकरण, भोग्नु परेका समस्या, नीतिगत व्यवस्था, समाधानका उपाय तथा गर्नुपर्ने सामूहिक अभियानबारे सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी अपांगता भएका व्यक्तिहरूले यातायातमा ५०५ छुटको कानुनी व्यवस्था कार्यान्वयन नहुँदा दैनिक जीवनमा भोग्नु परेका समस्याहरूबारे आफ्ना गुनासो राखेका थिए । नेपालमा अपांगमैत्री भौतिक पूर्वाधार, सार्वजनिक यातायात तथा सेवासुविधाका लागि विभिन्न ऐन, नियमावली, र आचारसंहिता छन् तर कार्यान्वयन कमजोर हुँदा अपांगता भएका व्यक्तिहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी र अन्य सामाजिक गतिविधिमा अवरोध भइरहेको गुनासो व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा स्याङ्जा अपांग समाजका अध्यक्ष राम शर्मा पोखरेल, सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेल, दृष्टिविहीन संघका प्रतिनिधि रुद्रप्रसाद शर्मा, बौद्धिक अपांग अभिभावक संघका अध्यक्ष कुलप्रसाद ढकाल, स्याङ्जा बहिरा संघका अध्यक्ष संजीव श्रेष्ठ, पत्रकार भवानी अधिकारी लगायतले आफ्नो धारणा राख्दै अपांगता भएका व्यक्तिहरूको सहज यातायात व्यवस्थापनका लागि सबै पक्षले सामूहिक रूपमा काम गर्नुपर्नेमा जोड दिएका थिए ।

यसै अवसरमा अपांगता भएका व्यक्तिहरूलाई सम्बोधन गर्ने मर्यादित शब्दावली समेटिएको स्टिकर र पम्फलेट सार्वजनिक गरिएको थियो ।ती स्टिकर सार्वजनिक स्थान तथा यातायातका साधनमा टाँस गरिने जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय