काठमाडौं ,१७ चैत । शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको घटनामा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं अदालतले अनुमति दिएको छ ।
आइतबार उक्त घटनामा पक्राउ परेकालाई म्याद थपका लागि प्रहरीले अदालतमा हाजिर गराएको थियो । काठमाडौं जिल्ला अदालतले रविन्द्र मिश्र र जबरासहित ११ जनालाई पाँचदिन हिरासतमा राख्न अनुमति दिएको हो । उनीहरुलाई राज्यविरुद्धको अपराधको आरोपमा मुद्दा चलाएको छ । त्यस्तै अन्य ३० जनालाई अपराधीक उपद्रो मुद्दामा चारदिन हिरासतमा राख्न अनुमति दिएको काठमाडौं अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
अदालतले कानुन व्यवसायी स्वागत नेपाललाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ । शुक्रबार काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनमा हिंसात्मक घटना भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।