क्रान्ति अर्याल
चैत १९, स्याङ्जा । बहिरा तथा अपांगता भएका व्यक्तिहरूले कानूनी प्रक्रियामा असहजता भोगिरहेका बेला गण्डकी प्रदेश सभा सदस्य सुनिता थापाले सेवा प्रवाहलाई सबै नागरिकमैत्री बनाउन आवश्यक रहेको बताउनुभएको छ । उहाँले प्रहरी कार्यालय, अदालत लगायतका कानूनी प्रक्रियामा दोभाषे सेवा नहुँदा बहिरा व्यक्तिहरूलाई निकै कठिनाइ भइरहेको उल्लेख गर्नुभयो ।
सांसद थापाले सरकारी तथा अन्य सेवा प्रदायक संस्थाहरूमा दोभाषे सेवाको अनिवार्य व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले लैङ्गिक हिंसाका घटनामा बहिरा महिलाहरू अझ बढी प्रभावित रहेको र प्रजनन अधिकारमा उनीहरूको पहुँच सीमित रहेको बताउनुभयो । यस अवस्थामा उनीहरूलाई सहज सेवा दिन राज्यका सबै तहले समन्वय गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै उहाँले आगामी दिनमा प्रदेश सभामा अपांगता भएका व्यक्तिमैत्री कानुन, नीति, कार्यक्रम तथा बजेट निर्माण गरी तिनको कार्यान्वयनमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गण्डकी प्रदेश सरकारले अपांगता भएका व्यक्तिहरूको हकका लागि विशेष ऐन ल्याउने तयारी गरिरहेको बताउँदै उहाँले तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
स्याङ्जा बहिरा संघको आयोजना तथा सामाजिक विकास कार्यालय स्याङ्जाको आर्थिक सहयोगमा आयोजित ‘बहिरा व्यक्तिका लागि स्वास्थ्य, बैकिङ कारोबार, फौजदारी कानुन तथा न्यायिक व्यवस्था सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ मा सांसद थापाले उक्त कुरा राख्नुभएको हो ।
उक्त प्रशिक्षण कार्यक्रम चैत १६ र १७ गते भएको थियो ।
कार्यक्रममा सहभागी ५३ जना बहिरा व्यक्तिहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै गण्डकी प्रदेश सभा सदस्य सुनिता थापालाई अपांगता भएका व्यक्तिहरूको अधिकारको पक्षमा संसदमा आवाज उठाउँदै कानून निर्माणमा पहल गरेकोमा सम्मान गरिएको थियो ।
त्यसैगरी सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेललाई बहिरा अपांगता भएका व्यक्तिहरूका लागि विभिन्न कार्यक्रम सञ्चालन तथा अभिमुखीकरण कार्यमा योगदान पुर्याएको भन्दै सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका जनस्वास्थ्य अधिकृत अस्मिता भण्डारी, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक प्रवेश तिवारी, राष्ट्रिय वाणिज्य बैंकका उप(प्रबन्धक सूर्यकृष्ण चौलागाईले सहजीकरण गर्नुभएको थियो ।