काठमाडौं,२६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा संविधान संशोधन हुने बताउनुभएको छ ।
मंगलबार मधेस प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विद्यमान प्रणालीलाई बलियो बनाउन तथा सुशासन र विकासका लागि उचित समयमा संविधान संशोधन हुने बताउनुभएको हो । उहाले संविधान कार्यान्वयनको अनुभवका आधारमा विद्यमान व्यवस्थालाई सबल बनाउने लक्ष्यका लागि संविधान संशोधन गर्न राजनीतिक समिति बनाइने उल्लेख गर्नुभयो । प्रगितमनका लागि ढोका खोल्न संविधान संशोधन नहुने भन्दै उहाले देश र जनताको आवश्यकताका आधारमा सवैको सहमतिमा संशोधनको प्रक्रिया अघि बढ्ने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले विगतमा निरङ्कुश राजतन्त्रको कुशासन नदेखेका नयाँ पुस्तालाई भ्रम दिन खोजिएको भन्दै नयाँ पुस्तालाई सचेत बनाउनुपर्नेमा जोड दिनुभयो । उहाले राजावादीले गरेको प्रदर्शनमा भएको हिंसात्मक घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउने स्पष्ट पार्नुभयो । गणतन्त्र नेपालको वर्तमान र भविष्य भएको भन्दै उहाले प्रतिपक्षी पनि विद्यमान व्यवस्थाको पक्षमा रहनु खुसीको कुरा भएको जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्रको व्यवस्था जनताको सङ्घर्षको जगमा ल्याइएकाले यस व्यवस्थालाई सुव्यवस्थित बनाएर अगाडि बनाउने काम सबैको भएको उल्लेख गर्नुभयो । मुलुकको वर्तमान प्रणालीअन्तर्गत संसदको सपथ खाने अनि बाहिर गएर संविधान मान्दिनँ भन्ने खालका सोच राख्न नहुने उहाले बताउनुभयो । ओलीले अहिलेको प्रणालीको रक्षाका लागि नै दुई ठूला दल एकै ठाँउ आउनुपरेको उल्लेख गर्नुभयो ।
उहाले संविधानले प्रदेशलाई स्वायत्तता प्रदान गरेको र यो स्वायत्तताको सही उपयोग गर्न सबैको दायित्व रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले सङ्घ, प्रदेश र स्थानीय तह बिचको समन्वय, नीति निर्माण र विकासका कार्यहरूलाई प्रभावकारी बनाउन प्रदेश सरकारको विशेष भूमिका रहने बताउनुुभयो ।