क्रान्ति अर्याल
स्याङ्जा, २ चैत । स्याङ्जाको गल्याङ नगरपालिकाले आन्दोलनमा रहेका शिक्षकहरूको माग तत्काल सम्बोधन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । नगरप्रमुख गुरुप्रसाद भट्टराईले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यालय शिक्षा ऐन चाँडै जारी गरी शिक्षकहरूलाई आन्दोलनबाट विद्यालय फर्काउने वातावरण बनाउन सरकारसँग अनुरोध गर्नुभएको हो ।
विज्ञप्तिमा विद्यालय शिक्षासम्बन्धी संविधानिक व्यवस्था र सरकारका अघिल्ला सम्झौता तथा प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “समय सापेक्ष र बालबालिकाको हित अनुकूल हुनेगरी शिक्षा ऐन जारी गरियोस् र आन्दोलनरत शिक्षकहरूलाई पठन–पाठनमा फर्काउने परिस्थिति बनाइयोस् ।”
संविधानले शिक्षालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै विज्ञप्तिमा शिक्षा नागरिकको आर्थिक, सामाजिक र मानवीय विकासको आधार भएको उल्लेख गरिएको छ । शिक्षा क्षेत्र व्यवस्थित नहुँदासम्म समृद्धि, सुशासन र समुन्नत राष्ट्र निर्माण असम्भव हुने विज्ञप्तिमा चेतावनी दिइएको छ ।
नगरप्रमुख भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा संघीयताको मर्मअनुसार शिक्षा ऐन ल्याई शैक्षिक समस्याको समाधान गर्नु सरकारको प्रमुख आवश्यकता भएको उल्लेख गरिएको छ ।