मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण संरक्षणका लागि सर्वपक्षीय सहकार्य आवश्यक : मन्त्री राई

२०८२ जेष्ठ १, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

विराटनगर, १ जेठ । भौतिक पूर्वाधार विकास एवं स्वास्थ्य मन्त्री भूपेन्द्र राईले मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण संरक्षणाका लागि सर्वपक्षीय सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभएकाे छ ।

स्वास्थ्य सेवा विभागले विराटनगरमा बुधबार आयोजना गरेको प्रदेशस्तरीय एक स्वास्थ्य समिति स्थापना गर्ने सम्बन्धमा प्रस्तावित समिति उपर छलफल तथा एक स्वास्थ्य रणनीति परिमार्जन कार्यशालामा मन्त्री राईले मानव स्वास्थ्यसँगै पशुपंक्षी र वातावरण संरक्षण अपरिहार्य रहेको बताउनुभएकाे हाे । यसको लागि प्रदेश सरकार नियमित सहकार्य र समन्वय गरेर अघि बढ्न तत्पर रहेको उहाँको भनाइ थियो ।

कार्यशालामा प्रदेशमा मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण संरक्षण सम्बर्द्धनका लागि प्रदेशस्तरी एक स्वास्थ्य निर्देशक र प्राविधिक समितिको संरचना र रणनीति निर्माण बारे छलफल भएको थियो । मानव, पशुपंक्षीमा फैलिने कुनै किसिमको महामारी र स्वस्थ्य वातावरण निर्माणका लागि एक स्वास्थ्य निर्देशक समितिले प्राविधिक समितिमार्फत प्रदेशमा आवश्यक स्रोत साधन जुटाएर काम गर्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले बताउनुभयाे ।

छलफलपछि स्वास्थ्य मन्त्रीको अध्यक्षतामा गठन हुने एक स्वास्थ्य निर्देशक समितिमा उद्योग, कृषि तथा सहकारी मन्त्री, मन्त्रालयका सचिवहरूलगायत सरोकारवाला रहने प्रस्ताव गरेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशकको अध्यक्षतामा सम्बन्धित सरोकारवाला प्राविधिक रहने गरी प्रदेशस्तरीय एक स्वास्थ्य प्राविधिक समिति गठन गर्नेसमेत प्रस्ताव गरेको हो । निर्देशक समितिको निर्देशनमा प्राविधिक समितिले प्रदेशभरि काम गर्ने छन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक बाराकोटीको अध्यक्षतामा सम्पन्न कार्यशालामा उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगा, स्वास्थ्य र कृषि मन्त्रालयका सचिवलगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय