वालिङ र मुक्तिनाथ कृषि कम्पनीबीच सम्झौता

२०८२ जेष्ठ ५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रकाश डोटेल
स्याङ्जा, ४ जेठ । स्याङ्जाको वालिङ नगरपालिका र काठमाडौंको मुक्तिनाथ कृषि कम्पनीबीच साझेदारी पत्रमा हस्ताक्षर भएको छ । ‘एक स्थानीय संरचना, एक कृषि परियोजना’ कार्यान्वयनको संभाब्यता अध्ययन गर्न नगरपालिका र मुक्तिनाथ कृषि कम्पनीबीच साझेदारी पत्रमा हस्ताक्षर गरी सम्झौता गरिएको हो ।

नगरपालिकाको तर्फबाट नगर प्रमुख कृष्ण खाँण र कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक भरतराज ढकालबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । ‘एक स्थानीय संरचना, एक कृषि परियोजना’ लाई नमुनाको रुपमा सार्वजनिक निजी समुदायको साझेदारीमा कार्यान्वयनको संभाब्यता सम्बन्धी आवश्यक कार्यहरु गर्ने प्रयोजनका लागि साझेदारी भएको नगर प्रमुख खाँणले बताउनुभयाे ।

नगरपालिका र मुक्तिनाथ कृषि कम्पनीको सहकार्यमा स्थानीय आवश्यकता र ब्यवसायिक संभाब्यताको आधारमा कृषि मूल्य  श्रृंखलासँग सम्बन्धित विभिन्न परियोजनाहरु स्थानीय समुदायसँग सहकार्य गरी सञ्चालन हुने भएको छ ।

विस्तृत परियोजना रिपोर्ट तयार गरी स्थानीय समुदायको दीगो आर्थिक र सामाजिक रुपान्तरणको कार्यान्वयन गर्ने उद्देश्य रहेको खाँणले बताउनुभयाे । दुई पक्षबीच भएको समझदारी पत्रमा कृषि ब्यवसायीकरण, स्तरीकरण, स्थानीय समस्याहरुको पहिचान गर्ने उल्लेख गरिएको छ । कृषक तथा उपभोक्ताको आवश्यकता, श्रोतको पहिचान र ब्यवसायिक संभाब्यताको आधारमा कृषि मूल्य श्रृंखलासँग परियोजनाको खोजी र पहिचान गरिने भएको हो ।

स्थानीय आर्थिक सामाजिक रुपान्तरणका लागि सबैभन्दा उपयुक्त नमूना र दीगो परियोजना छनोट गरी नगरपालिकाको सिफारिस अनुसार स्थानीय युवाहरुलाई मुक्तिनाथ उद्यम केन्द्रमार्फत स्वरोजगार बनाउन कम्पनीले सहकार्यको प्रक्रियालाई अगाडी बढाएको कम्पनीका प्रबन्ध निर्देशक ढकालले बताउनुभयाे ।

निर्देशक ढकालका अनुसार कम्पनीले कृषि मूल्य श्रृंखला ब्यवस्थापन अन्र्तगत उपलब्ध उत्पादन, प्रशोधन, पोष्ट हार्भेष्ट ब्यवस्थापनसँग सम्बन्धित गुणस्तरीय वस्तु तथा सेवाहरु कृषकहरु समक्ष पु¥याउन सहयोग गर्नेछ । कम्पनीले नगरपालिकालाई वार्षिक कृषि योजना, वार्षिक कृषि परामर्श सेवा, विभिन्न प्रविधिहरुको प्रयोग, तालिम तथा परीक्षणमा सहयोग गर्ने सम्झौता अवधि एक वर्षको रहने छ ।

त्यस्तगरी वालिङ र मुक्तिनाथ लाईभस्टक बैंक लिमिटेडबीच नगरपालिकासँग आवद्ध भएका कृषकहरुले उत्पादन गरेका खसी बोका खरिद गरी बधशालामा बध गर्ने प्रयोजनका लागि सम्झौता भएको हो । यस परियोजना अन्तर्गत कृषकहरुले उत्पादन गरेका खसी बोका आँफै बिक्री गर्न पनि पाउने र बिक्री नभएको खण्डमा कम्पनी मार्फत खरिद गरिदिने ब्यवस्था मिलाईएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय