काठमाडौं, १६ जेठ । गणतन्त्र दिवसको अवसर पारेर आम जनता पार्टी (आजपा) ले ‘वर्तमान व्यवस्था दलतन्त्र कि गणतन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तर्क्रिया कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, प्राध्यापक, कानूनविद र नागरिक समाजको तर्फबाट सहभागिता रहेको थियो ।
आजपाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहले आज देश दलदलमा फस्दै गएको र जनतामा उकुसमुकुस भागदौडको स्थिति रहेको बताउनुभएकाे छ । उहाँले अहिलेको अवस्थामा पूर्व राजा र अहिलेका पार्टीका महाराजाहरु कोही पनि खुसी नरहेको टिप्पणी गर्नुभयाे । पूर्वमन्त्रीसमेत रहेका नेता साहले अहिले देशको अर्थतन्त्र डामाडोल, सामाजिक सद्भाव भद्रगोल र युवाहरुको भविष्य अन्यौंला अवस्थामा रहेको बताउनुभयाे । उहाँले नेताहरुको सबै प्रयासहरु क्रमशः असफल भइरहेको र जनतालाई सेवा दिनुको साटो दलका नेताहरु तमासा देखाइरहेको उहाँले बताउनुभयाे ।
‘अहिलेका हाम्रा पार्टीका प्रमुख स्वघोषित राजाहरुलाई, अब तपाईँहरुको सबै प्रयासहरु असफल भयो । अब देशलाई निकास दिनुस् । तपाईँहरु फेरि जिद्दि गर्नुहुन्छ भने जनतालाई स्वीकार्य छैन । अब देशलाई चाहिएको छ निकास । त्यो भनेको अन्तरीम सरकार । प्रधानमन्त्रीजीलाई म भन्न चाहन्छु– तपाईँहरुले सबै प्रयास गर्नुभयो । काहीँ दुनियाँमा नभएको अभ्यास गर्नुभयो । न्यायाधीशलाई सरकार प्रमुख बनाउनुभयो । विपरीत जनादेश पाएको अपवित्र गठबन्धन बनाउनुभयो । समस्यामात्रै सिर्जना गर्नुभयो ।’ आजपा अध्यक्ष साहले भन्नुभयाे, ‘फेरि पनि म प्रधानमन्त्रीलाई भन्न चाहन्छु– राजीनामा दिनुस् । यो सडकमा तमासा गरेर तपाईँले सुख पाउने आवस्था छैन । तपाईँले राजीनामा दिनुहुन्छ भने जनता र देशले शान्ति पाउनेछन् । अन्तरी म सरकारमात्रै अहिलेको निकास हो भन्ने म ध्यानाकर्षण गराउन चाहन्छु ।’
उहाँले देशको व्यवस्था परिवर्तनका लागि आफूले जनयुद्ध र जनआन्दोलनका क्रमम अग्रभागमा रहेर लडेको स्मरण गराउँदै पछिल्लो समय सबै कुरामा धोका भएको बताउनुभयाे । आफू लोकतन्त्रका लागि लडेको भएपनि त्यसलाई नेताहरुले दलतन्त्र बनाएको, संघीयताको लागि लढेकोमा ७६१ वटा सरकार बनाएर दुनियाँमा कतै नभएको काम गरिएको उहाँको आरोप छ । उहाँले आफूहरुले पीडित र अल्पसंख्यक समुदायको लागि समानुपातिक व्यवस्थाको माग गरेर लडेको भए पनि नेताहरुले शासकको लागि आरक्षणको व्यवस्था ल्याएको आरोप लगाउनुभयाे । नेता साहले राष्ट्रियताको लागि लडेकोमा दुई देशको नागरिकताको प्रावधान ल्याएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयाे । ‘आज एउटा पकेटमा नेपालको नागरिकता, अर्को पकेटमा अमेरिकाको नागरिकता दुनियाँमा नभएको व्यवस्था हामीले हेरिरहेका छौं । हामी प्रतिस्पर्धाको लागि लडेका थियौं, तर सिन्डिकेट ल्याइयो,’– उहाँले भन्नुभयाे ।
संविधानमा उल्लेखित मौलिक हक र संवैधानिक आयोगहरु जनतालाई झुक्याउन र लुट्नमात्रै प्रयोग भइरहेको उहाँको आरोप छ । नेता साहले गणतन्त्र नेपालमा देखाउने दाँतमात्रै भएको बताउनुभयाे । देशमा अहिले गणतन्त्र नभएर दलतन्त्र हाबी भइरहेको बताउनुभयाे । ‘आज दुःखको साथ भनिराख्नु परेको छ– गणतन्त्र नेपालमा देखाउने दाँतमात्रै भयो । हामी गहना किन्न जान्छौं, एउटा बाहिरी लेप लगाएको नक्कली गहना हुन्छ, लेपमात्रै सुनजस्तो देखिन्छ । सुन भित्र हुँदैन । अहिलेको व्यवस्था दलतन्त्र हो । गणतन्त्र भनेको बाहिर देखाउने लेपमात्रै भयो,’– उहाँले भन्नुभयाे ।
गणतन्त्रलाई खोल बनाएर पार्टीका नेताहरुले तत्कालीन राजा महाराजाहरुको नक्कल गरिरहेको उहाँको आरोप छ । नेता साहले अहिले नेपाललाई लुटेर विदेश भाग्ने भगौडा वर्गको जन्म भइसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयाे । नेपालमा शासन गर्ने र यहाँबाट लुटेर विदेश लैजाने काम भइरहेको उनको आरोप छ । उहाँले नेपालका ठूला भनिएका नेताहरुको सन्तान भने विदेश पठाएको र भएभरको सम्पत्ति उतै थुपारेको उहाँको आरोप छ । केही नलागेपछि अब उनीहरु पनि विदेशतिरै जान तम्तयार भएर बसिरहेको उहाँले बताउनुभयाे ।
नेपालमा लगानी गर्ने, नेपालमा भविष्य देख्ने र बाहिर कमाएर ल्याएका सम्पत्ति नेपालमै लगानी गर्नेहरु आजपाको मित्र रहेको उहाँको धारणा छ । उनले नेपाललाई लुटेर विदेश लैजाने र विदेशमा भविष्य देख्नेहरुबाट नेपाललाई फाइदा नपुग्ने बताउनुभयाे । आजकालका नेताहरुले नेपालमा नभएर विदेशमा नै घुस लिन थालेको नेता साहको आरोप छ । नेता साहले प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कुनै हालतमा गणतन्त्रवादी हुनै नसक्ने बताउनुभयाे । उहाँले ओली–देउवालाई नक्कली गणतन्त्रवादीको संज्ञा दिनुभयाे । उनीहरुको दिल दिमागमा जनता नरहेको नेता साहको दाबी छ । अहिले दलतन्त्रको सरकार रहेको र गणतन्त्र कहीँकतै नरहेको बताउनुभयाे ।
‘विदेशमै घुस लिने प्रचलन नेपालमा सुरुवात भयो । नेपालको ठूला बडाहरुले त नेपालमा भविष्य देख्न छाडे भने आम जनताको भविष्य के होला ? भागडौडका स्थिति छ । यसको एउटै कारण के हो भने नेताहरुले धोका दिनुभयाे । नेताहरुले गलत व्यवस्था खडा गर्नुभयाे । आज दुःखको साथ भन्नुपर्छ नेपालमा गणतन्त्र छैन । म ओली, देउवाजीहरुलाई भन्न चाहन्छु– के तपाईँहरु गणतन्त्रवादी हो ? तपाईँहरु नक्कली गणतन्त्रवादी हो,’– उहाँले भन्नुभयाे ।